अशान्त संसारमा मनको शान्ति

Peace

“शान्ति—हाम्रो राष्ट्र, परिवार र मुख्य गरी हाम्रो हृदय र मनको निम्ति—कहाँ छ शान्ति?” यो दर्दनाक चीत्कार युगौँदेखि सुनिँदै आएको छ। के तपाईंको हृदयको पनि चीत्कार यही हो?

मानिसहरू थकित र चिन्तित छन्‌। निःसन्देह नै हामीलाई अगुवाइ र परामर्श, सुरक्षा र निश्चयताको आवश्यकता छ। हामीलाई मनको शान्तिको आवश्यकता छ, हामीलाई यो चाहिएको छ।

मनको शान्ति—कति गजबको सम्पत्ति! के यस्तो सम्पत्ति यति बिघ्न द्वन्द्व र चिन्ता, भद्रगोल र दुःखले भरिएको संसारमा पाउन सकिन्छ होला?

पूरा लेख: अशान्त संसारमा मनको शान्ति

चरम खोजी जारी छ! धेरै मानिसहरूले शान्तिलाई सम्मान र समृद्धिमा, सुख-सयल र शक्तिमा, शिक्षा र ज्ञानमा, मानवीय सम्बन्धहरू र विवाहमा खोजिरहेका छन्‌। उनीहरूले आफ्नो टाउको ज्ञानले र आफ्नो थैलो धनले भर्ने इच्छा राख्छन्‌, तर उनीहरूको आत्मा भने रित्तो रहन्छ। कोही भने लागू-औषध वा मदिरा सेवन गरेर जीवनको यथार्थहरूबाट भाग्न खोज्दै गरेका हुन्छन्‌, तर उनीहरूले खोजेको शान्तिले उनीहरूलाई छल गर्छ। उनीहरू अझै पनि रित्तो र एक्लो नै हुन्छन्‌, दुःखित संसारमा अझै पनि दुःखित मन लिएर रहेका हुन्छन्‌।

भद्रगोल स्थितिमा मानिस

परमेश्वरले मानिसलाई सृजनुभयो र उसलाई एउटा सुन्दर बगैँचामा सिद्ध शान्ति, आनन्द र खुसी अनुभव गर्न राख्नुभयो। तर जब आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरे, तत्कालै उनीहरू दोषको भावले आक्रान्त भए। पहिले उनीहरूले परमेश्वरको उपस्थितिको चाहना गर्थे भने अहिले उनीहरू आफैँ लाजले लुके। उनीहरूले अनुभव गरेको त्यस शान्ति र आनन्दलाई अब दोष र डरले प्रतिस्थापन गर्यो। अशान्त संसार—अनि अशान्त मनको सुरुवात मानिसको पापबाट नै भएको थियो।

हाम्रो आत्माले परमेश्वरको चाह गर्ने भएतापनि हाम्रो पापमय स्वभावले उहाँको चालहरूको विरुद्धमा विद्रोह गर्छ। यो भित्री द्वन्द्वले तनाव र चिन्ता उत्पन्न गर्छ। जब हामी पनि आदम र हव्वा जस्तै हाम्रै इच्छा र अभिलाषामा आफू-केन्द्रित हुन्छौं, तब हामी पनि विचलित र व्याकुल बन्छौं। हामीले जति धेरै आफूमाथि जोड दिन्छौं, हामी त्यति नै धेरै दुःखित बन्छौं। जीवनका अनिश्चितताहरू र परिवर्तित, क्षय हुँदै गरेको संसारले हाम्रो सुरक्षालाई हल्लाउँछ र हाम्रो शान्तिलाई बिथोल्छ।

तपाईंले यसलाई पहिचान वा स्वीकार नगर्नुभएको हुन सक्छ, तर तपाईंभित्र भएको बेचैनीको कारण पाप हुन सक्छ। धेरै मानिसहरूले शान्ति पाउन बाहिरी र भौतिक कुराहरूमाझ खोजी गर्छन्‌। उनीहरूको मन अशान्त हुनमा उनीहरूले अशान्त संसारलाई दोष दिन्छन्‌। तर उनीहरूले आफ्नै हृदयभित्र हेर्न भने छुटाउँछन्‌।

येशू ख्रीष्ट, शान्तिका राजकुमार

हामीलाई बनाउनुहुने र हामीलाई बुझ्नुहुने परमेश्वरसँग हाम्रा जीवनका सबै पक्षहरूलाई एकतामा नल्याएसम्म साँचो शान्ति हुन सक्दैन। ख्रीष्टप्रति पूर्ण समर्पित हुँदा मात्र यो सम्भव हुन्छ। उहाँ यस संसारको मालिक मात्र हुनुहुन्न, तर उहाँले हाम्रो जीवनलाई सुरुदेखि अन्तिमसम्मै बुझ्नु पनि हुन्छ। “अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति दिन, र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याउन” (लूका १:७९) उहाँ यस संसारमा आउनुभयो र यसरी उहाँले हाम्रो बारेमा सोच्दै हुनुहुन्थ्यो।

 येशूले अन्धकारको निम्ति ज्योति, कलहको निम्ति शान्ति, शोकको निम्ति आनन्द, निराशाको निम्ति आशा, र मृत्युको निम्ति जीवन प्रदान गर्नुहुन्छ। उहाँले यूहन्ना १४:२७ मा भन्नुहुन्छ, “शान्ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। ... तिमीहरूको हृदय व्याकुल नहोस्‌ र भयभीत नहोस्‌।”

पश्चात्तापले मनको शान्ति ल्याउँछ

जब तपाईं पापको गह्रौँ भारीले थिचिएको महसुस गर्नुहुन्छ, तब तपाईंको लागि उपाय यो हो: “पश्चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्‌, कि तपाईंहरूका पाप मेटिऊन्‌” (प्रेरित ३:१९)। येशूले तपाईंलाई सबैभन्दा अर्थपूर्ण, जीवन परिवर्तनको अनुभव गर्नको लागि निम्तो दिनुहुन्छ। येशूले भन्नुभयो, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। पहिलो यूहन्नाको पुस्तक १ अध्यायको ९ पदले प्रतिज्ञा गर्छ, “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्छ।” के तपाईं उहाँको निम्तोलाई स्वीकार गर्नुहुन्छ?

जब तपाईं येशूकहाँ आउनुहुन्छ, तपाईंले क्षमा र स्वतन्त्रता पाउनुहुनेछ। रिस र अक्षमाको साटोमा तपाईंको हृदय प्रेम र कृपाले भरिन्छ। येशूलाई तपाईंको हृदयमा राज गर्न दिएर तपाईंले शत्रुहरूलाई पनि प्रेम गर्नुहुनेछ। यो ख्रीष्टको छुटकारा गर्ने रगतको शक्तिद्वारा सम्भव हुन्छ।

रहिरहने शान्ति

ख्रीष्टियानको रूपमा, परमेश्वरमा विश्वास गर्नु र उहाँको वास्तामा भरोसा गर्नु भनेको डर र चिन्ताको उपचार गर्नु हो। अनन्तदेखि अनन्तसम्म नबदलिनुहुने परमेश्वरमा भरोसा गर्नुमा कति आराम छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई सदैव वास्ता गर्नुहुनेछ। त्यसैले, किन चिन्ता गर्ने र व्याकुल हुने? पहिलो पत्रुस ५ अध्यायको ७ पदमा लेखे जस्तै अभ्यास गर्न सिक्नुहोस्‌, “तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।”  हामीलाई यस्तो प्रतिज्ञा पनि दिइएको छ, “जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ” (यशैया २६:३)।

येशू ख्रीष्ट तपाईंको हृदयमा हुनुहुन्छ भने शान्तिको निम्ति तपाईंको खोजी पूरा भएको छ। उहाँले तपाईंलाई शान्ति र अमन चैन दिनुहुनेछ, जुन उहाँमाथि भरोसा गरेर मात्र आउँछ। तपाईंले पनि कविसँगै यसरी भन्न सक्नुहुनेछ:

जहाँ छैन शान्ति त्यहाँ शान्ति पाएँ
जहाँ चल्छ हुरी त्यहाँ अमन चैन  
गुप्त ठाउँ जहाँ म आमनेसामने भएँ
मेरो मालिकसँग दुःखमा छु म भन्ने छैन

-राल्फ स्पाल्डिङ कुशम्यान

अशान्त संसारमा तपाईंले मनको शान्ति पाउनुहुनेछ! आफ्नो हृदयको ढोका ख्रीष्टको निम्ति खोल्नुहोस्‌—अहिले नै—अनि कुनै बेला तपाईंको लागि उहाँले स्वर्गको ढोका खोल्नुहुनेछ, जहाँ सिद्ध शान्तिले सदासर्वदा राज्य गर्नेछ।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌