ख्रीष्टीय मत - यो के हो?

ख्रीष्टीय मत परमेश्वर, उहाँको पुत्र येशू ख्रीष्ट, र परमेश्वरको वचन बाइबलमा आधारित छ। ख्रीष्टियान एक यस्तो व्यक्ति हो जसले बाइबललाई विश्वास गर्छ र येशू ख्रीष्टको शिक्षाहरूको अनुकरण गर्छ। जीवनको यस मार्गले यहाँ यस पृथ्वीमा शान्ति र सन्तुष्टि ल्याउँछ र हामीलाई स्वर्गको घरको निम्ति तयार गर्छ।

परमेश्वर पिता

बाइबलले सिकाउँछ कि केवल एक परमेश्वर हुनुहुन्छ, जो सदादेखि रहिआउनु भएको छ र सदा रहिरहनु हुनेछ। परमेश्वरले सबै कुराहरू जान्नुहुन्छ र उहाँको बुद्धि र ज्ञान असीमित छन्। हितोपदेश १५:३ मा बाइबलले बताउँछ, "परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ।" उहाँ सर्वत्र उपस्थित हुनुहुन्छ र एकै समयमा सारा संसारमा हरेकमाथि पूर्ण ध्यान दिन सक्नुहुन्छ। हामीले परमेश्वरसँग जुनसुकै ठाउँबाट जुनसुकै समयमा प्रार्थना गर्न सक्छौं। उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ र उहाँको आफ्नो असल अभिप्रायअनुसार त्यसको जबाफ दिनुहुन्छ। परमेश्वर केवल एक हुनुहुन्छ, तथापि उहाँ तीन व्यक्तिहरूमा प्रकट हुनुहुन्छ: परमेश्वर पिता, परमेश्वर पुत्र, र परमेश्वर पवित्र आत्मा। तीनै जना भिन्न हुनुहुन्छ, तथापि एकतामा एकसाथ कार्य गर्नुहुन्छ किनकि उहाँहरू एक हुनुहुन्छ।

सृष्टि र मानव जातिको पतन

परमेश्वरले संसार र यसमा भएका यावत्‌ थोक सृष्टि गर्नुभयो। पाँच दिनभित्र परमेश्वरले सूर्य, चन्द्र, ताराहरू, पृथ्वी, पानी, चराहरू, र माछाहरू सृष्टि गर्नुभयो। छैठौँ दिनमा परमेश्वरले जमिनमा हुने सबै प्राणीहरूको सृष्टि गर्नुभयो र त्यसपछि मानिसलाई उहाँकै स्वरूपमा सृष्टि गर्नुभयो। मानिस परमेश्वरको सृष्टिको मुकुट र उहाँको प्रेमको अभिव्यक्ति हो। परमेश्वरले पहिलो मानिस आदमलाई शुद्ध र बिना पाप सृष्टि गर्नुभयो। मानिसले व्यक्तिगत छनौटद्वारा परमेश्वरको सेवा गरोस्‌ भन्ने उहाँ चाहनुहुन्थ्यो। उहाँले आदम र तिनकी पत्नी हव्वालाई एक सरल आज्ञा दिनुभयो, तर तिनीहरूले आज्ञा उल्लङ्घन गर्ने छनौट गरे। तिनीहरूको पापको कारणले गर्दा तिनीहरू परमेश्वरबाट अलग भए। तिनीहरूको अनाज्ञाकारिताले गर्दा हरेकलाई पाप र मृत्युको श्रापमा पार्यो। मानव जातिको छुटकारा गर्न सक्नुहुने केवल परमेश्वर हुनुहुन्थ्यो। उहाँको प्रेमको कारणले गर्दा "उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌" (यूहन्ना ३:१६)।

परमेश्वर पुत्र

पूरा लेख: ख्रीष्टीय मत - यो के हो?

येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ पवित्र आत्माको शक्तिद्वारा एक कन्याबाट जन्मिएर पृथ्वीमा एक बालकको रूपमा आउनुभयो। येशूले एक सामान्य मानिसको जीवन जिउनुभयो। उहाँ हामी जस्तै धेरै प्रकारले दुष्टको परीक्षामा पर्नुभयो, तापनि कहिल्यै पाप गर्नुभएन। येशूले धेरै मानिसहरूको रोगहरू चङ्गाइ गर्दै र असल गर्दै हिँड्नुभयो। उहाँले तिनीहरूलाई मुक्तिको बारेमा र उहाँको पिताको प्रेमको बारेमा सिकाउनुभयो। सारा संसारको पापको निम्ति आफैँलाई बलिदानको रूपमा दिनु नै उहाँ पृथ्वीमा आउनुको उद्देश्य थियो। जसै येशूले पाप र स्वार्थको विरुद्धमा प्रचार गर्नुभयो, धार्मिक अगुवाहरू उहाँसँग रिसाए। तिनीहरूले उहाँलाई सरकारी अधिकारीहरूसमक्ष सुम्पिदिए, जसले उहाँलाई क्रूसमा टाँगे। क्रूसमा उहाँको मृत्युपछि, उहाँका चेलाहरूले उहाँको मृत शरीरलाई एउटा चिहानमा राखे। तेस्रो दिनमा, परमेश्वरको शक्तिद्वारा येशू मरेकोबाट बिउँतनुभयो। उहाँ स्वर्ग फर्कनुअघि, उहाँले आफ्ना अनुयायीहरूलाई परमेश्वरको राज्य कसरी स्थापना गर्ने भनी सिकाउनुभयो।

परमेश्वर पवित्र आत्मा

पवित्र आत्मा त्रिएक परमेश्वरको तेस्रो व्यक्ति हुनुहुन्छ। उहाँले परमेश्वरको इच्छा मानिसलाई प्रकट गर्नुहुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूको मूर्तिपूजा र पाप कर्महरूको लागि दोष महसुस गराउनुहुन्छ। उहाँले मानिसलाई येशू ख्रीष्टको बलिदानलाई आफ्नो पापको प्रायश्चित्तको रूपमा ग्रहण गर्न निम्तो दिनुहुन्छ। प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वरले पवित्र आत्माको वरदान दिनुहुन्छ। उहाँ जीवनका सबै कठिनाइहरूमा एक सल्लाहकार, सबै सङ्कष्टहरूमा एक सान्त्वनादाता हुनुहुन्छ। उहाँले मानिसहरूलाई सबै सत्यतामा डोर्याउँदै, उनीहरूलाई अधार्मिकताको लागि हप्काउनुहुन्छ।       

बाइबल

बाइबल परमेश्वरको वचन र मानिसको निम्ति उहाँको सन्देश हो। यो मानव-निर्मित पुस्तक होइन तर प्राचीन कालका पवित्र जनहरूद्वारा पवित्र आत्माको प्रेरणामा लेखिएको पुस्तक हो। बाइबलले संसार र मानिसको सृष्टिको अभिलेख गर्छ। यसले हामीलाई बताउँछ कि सबैले पाप गरेका छन् र यस पापले मानिसलाई परमेश्वरबाट अलग गर्छ। यसले मुक्तिको मार्गको बारेमा बताउँछ, जसले हरेक व्यक्तिलाई पापको बन्धनबाट मुक्त गर्न सक्छ। बाइबलले हामीलाई कसरी ईश्वरीय जीवन जिउने र कसरी अनन्तको लागि तयार हुने भन्ने बारेमा सिकाउँछ।

ख्रीष्टीय जीवन जियाइ

ख्रीष्टियान बन्नको लागि हामीले हाम्रो पापमय अवस्थालाई थाहा गर्नुपर्छ। हामीले हाम्रो पाप स्वीकार गर्नुपर्छ र प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ। जसै हामी हाम्रो जीवन परमेश्वरलाई सुम्पन्छौं, उहाँले हामीलाई पवित्र आत्माले भर्नुहुन्छ। हामीभित्र वास गर्नुहुने पवित्र आत्माको शक्तिले नै अरूहरूलाई प्रेम गर्न र क्षमा गर्न हामीलाई सशक्त पार्छ। एक ख्रीष्टियानले आफ्नो हृदयमा शुद्धतालाई कायम राख्ने र इमानदार र सत्य हुने कुरामा अग्रसर हुन्छ। जब हामी असफल हुन्छौं, बाइबलले यस्तो प्रतिज्ञा गर्छ: "यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने उहाँले [परमेश्वरले] हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ" (१ यूहन्ना १:९)।

यस जीवन पश्चात्‌

बाइबलले हामीलाई हाम्रो आत्माको दुई अनन्त गन्तव्यहरूको बारेमा सिकाउँछ, स्वर्ग वा नरक। जब हामी मर्छौं, हाम्रो आत्मा परमेश्वरको अन्तिम न्याय पर्खनको लागि शरीरबाट छुट्छ। न्यायको समयमा उद्धार पाएको व्यक्तिलाई स्वर्गमा आमन्त्रित गरिनेछ। परमेश्वरलाई इन्कार गर्नेहरू सबैलाई नरक पठाइनेछ। नरक एक अति भयावह ठाउँ हो। यो दुष्ट र त्यसका दूतहरूको लागि तयार गरिएको जल्दो आगोको एक अति गहिरो भट्टी हो। येशूको वाणी पालन नगरी जानाजान पापमा जिउनेहरू सबै नै बिना आशा सदाको लागि त्यहाँ जल्नेछन्‌।        

स्वर्ग परमेश्वरको वासस्थान हो। यो परमेश्वरद्वारा तयार गरिएको सिद्ध शान्ति र आरामको सबैभन्दा सुन्दर ठाउँ हो। स्वर्गमा कुनै पनि किसिमको शोक वा पीडा, भोक वा रोग हुनेछैन। पापलाई त्यागेका र येशूलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरेकाहरू सबैको निम्ति यो घर हो। त्यहाँ उद्धार पाएकाहरूले गाउनेछन्‌ र सदा-सर्वदा परमेश्वरको प्रशंसा गर्नेछन्‌।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌