सुन्नुहोस्‌ त! कसले तपाईंलाई बोलाउँदै हुनुहुन्छ?

The listening lamb

यूहन्नाको सुसमाचार १०:१–१८

कसैले तपाईंको नाम लिएर तपाईंलाई बोलाउँदै गरेको तपाईंले सुन्नुभएको, तर त्यो आवाज कहाँबाट आइरहेको छ भन्ने तपाईंलाई थाहा नभएको, त्यस्तो कहिल्यै भएको छ? अथवा, हुनसक्छ, तपाईंको वरिपरि धेरै होहल्ला भएको कारणले गर्दा तपाईंले मुस्किलले सुन्नुभएको होला।

सुन्नुहोस् त, तपाईंलाई एउटा आवाजले बोलाउँदै छ। हजुर, तपाईंलाई!

पूरा लेख: सुन्नुहोस्‌ त! कसले तपाईंलाई बोलाउँदै हुनुहुन्छ?

तपाईं को हुनुहुन्छ? तपाईंको नाम के हो? तपाईं कहाँबाट आउनुभएको हो? तपाईं कहाँ बस्नुहुन्छ? तपाईं कहाँ जाँदै हुनुहुन्छ?

तपाईंलाई आफ्नो गाउँको नाम थाहा छ। सायद, तपाईं अरू कुनै पनि ठाउँमा जानुभएको छैन। तर तपाईंलाई थाहा छ कि तपाईंको गाउँ यो ठूलो देशको एउटा भाग हो, र तपाईंको देश यस ठूलो संसारको एउटा भाग हो।

बाइबल

यो संसार करिब ६००० वर्ष अगाडि बनिएको हो। यो परमेश्वरले बनाउनुभएको हो। परमेश्वरसँग एउटा पुस्तक छ, जसलाई बाइबल भनिन्छ, अनि परमेश्वरले यो संसार कसरी बनाउनुभयो र उहाँले पहिलो पुरुष र स्त्रीलाई कसरी बनाउनुभयो भनी यो पुस्तकले बताउँछ। परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूपमा बनाउनुभयो।

त्यो समयदेखि बाल-बालिकाहरू जन्मिँदै आएका छन्‌। त्यही बेलादेखि नै मानिसहरूको मृत्यु हुन थाल्यो। हजारौं हजार मानिसहरूको जन्म भएको छ र मृत्यु पनि भएको छ।

तपाईं तपाईंको आमा र बुबाबाट जन्मनुभयो। तर तपाईंलाई साँच्चि नै परमेश्वरले बनाउनुभएको हो। उहाँले सबै कुरा बनाउनुभयो। परमेश्वरले यी सबै थोकलाई र तपाईंलाई कस्तो अद्भुत रीतिले बनाउनुभयो भनी के तपाईंले कहिल्यै सोच्नुभएको छ?

तपाईंको आमाबाबुले तपाईंलाई नाम दिनुभयो। परमेश्वरले तपाईंको नाम जान्नुहुन्छ। उहाँले हरेक नाम जान्नुहुन्छ, चाहे त्यो जुनसुकै भाषामा होस्‌। उहाँले सबै कुरा जान्नुहुन्छ।

परमेश्वरले हामीलाई बनाउनुभएको हुनाले उहाँले हाम्रो बारेमा सबै जान्नुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ किनकि हामी उहाँका हौं। उहाँ हाम्रो स्वर्गमा हुनुहुने पिता हुनुहुन्छ, र उहाँले हामीलाई हाम्रो आफ्नो बाबु र आमाले भन्दा पनि बढी वास्ता गर्नुहुन्छ।

 

परमेश्वर

परमेश्वर सधैँ अस्तित्वमा रहँदै आउनुभएको छ। उहाँ सधैँभरिको लागि जीवित हुनुहुन्छ। त्यसैले, जब उहाँले आफ्नो श्वास हामीमा हाल्नुभयो, त्यसले हामीलाई पनि सदाको निम्ति जीवित पार्यो। होइन, हाम्रो शरीर होइन, किनकि शरीर त मर्छ, तर हामी भित्र हुने आत्मा सदाको निम्ति जिउँछ।

के तपाईंले परमेश्वरलाई चिन्नुहुन्छ? सायद तपाईं सोध्नुहुन्छ होला, “परमेश्वर को हुनुहुन्छ? उहाँ कहाँ हुनुहुन्छ?”

के तपाईं साँच्चै चिन्न चाहनुहुन्छ? हो, तपाईं चाहनुहुन्छ, भित्र मनको गहिराइमा तपाईं उहाँलाई चिन्न चाहनुहुन्छ।

तपाईंले परमेश्वरलाई कहिल्यै देख्नुभएको छैन, छ त? छैन, तर यसको अर्थ उहाँ हुनुहुन्न भन्ने होइन।

परमेश्वर एक मात्र हुनुहुन्छ। उहाँको ठाउँ अरू कसैले लिन सक्दैन किनकि उहाँ जो एक साँच्चिकै परमेश्वर हुनुहुन्छ, उहाँले मात्र स्वर्ग र पृथ्वीमा राज्य गर्नुहुन्छ। उहाँ एकै समयमा सर्वत्र हुनुहुन्छ।

स्वर्ग परमेश्वरको घर हो, त्यो सुन्दर ठाउँ माथि छ, तर उहाँको आवाज सुनेर पालन गर्नेहरूको हृदयमा पनि उहाँ वास गर्नुहुन्छ।

मैले परमेश्वरलाई कसरी जान्न सक्छु? के तपाईंले सोधेको प्रश्न यही हो? कसरी उहाँलाई जान्ने भनेर देखाउन उहाँसँग एउटा सुन्दर योजना छ।

परमेश्वरले उहाँ को हुनुहुन्छ र उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई देखाउनको लागि आफ्नो एक मात्र पुत्र येशूलाई स्वर्गबाट तल पृथ्वीमा पठाउनुभयो। परमेश्वर र येशू एकै हुनुहुन्छ।

अचम्म तरिकाले परमेश्वरको पुत्र बालकको रूपमा जन्मनुभयो, हुर्कनु भयो र वयस्क मानिस हुनुभयो। अनि तीन वर्षसम्म येशूले मानिसहरूलाई उहाँका पिता, परमेश्वरको प्रेमको बारेमा बताउनुभयो। उहाँले तिनीहरूलाई परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले पापलाई सहन गर्न सक्नुहुँदैन भनी भन्नुभयो।

अनि परमेश्वरले हामीलाई हाम्रो पापबाट बचाउने एउटा बाटो बनाउनुभयो। उहाँले आफ्नो पुत्र येशूलाई दुष्ट मानिसहरूद्वारा क्रूसमा काँटी ठोकिनलाई दिनुभयो। उहाँले आफ्नो जीवन हाम्रो लागि अर्पण गर्नुभयो—उहाँको प्रेम यति महान्‌ थियो!

सबै संसारको पापको, तपाईंले अहिलेसम्म गर्नुभएको हरेक पापको, प्रत्येक केटा वा केटी, पुरुष वा स्त्री प्रत्येकको पापको मूल्य चुकाउन सक्ने एउटा मात्र बलिदान उहाँ हुनुभयो।

के येशू क्रूसमा नै रहनुभयो? के येशू चिहानमा नै रहनुभयो? भएन, तीन दिनपछि उहाँ विजयी भई मृत्युबाट जीवित हुनुभयो। त्यसपछि उहाँ स्वर्ग फर्कनुभयो र यो संसारको अन्त्यको समयमा उहाँ फेरि आउनुहुनेछ। त्यस बेला उहाँ सारा मानिसहरूका धार्मिक न्यायकर्ता हुनुहुनेछ।

के तपाइँसँग यूहन्नाको सुसमाचारको पुस्तक छ? यूहन्नाको पुस्तक १० अध्याय पढ्नुहोस्। येशूले मानिसहरूलाई जे भन्नुभयो यूहन्नाले त्यही लेखे। उहाँले जे भन्नुभयो त्यो आज हाम्रो लागि पनि हो। येशूले भन्नुभयो उहाँ असल गोठालो हुनुहुन्छ र आफ्नो भेडाको निम्ति आफ्नो जीवन दिनुहुन्छ। हामी भेडाहरू हौं। अनि उहाँका भेडाहरूले उहाँको आवाजलाई चिन्छन्। उहाँले प्रत्येकलाई नाम काढेर बोलाउनुहुन्छ। अपरिचित व्यक्तिलाई तिनीहरूले पछ्याउँदैनन्।

अपरिचित व्यक्ति, त्यो अर्को आवाज

त्यो अपरिचित व्यक्ति को हो, जसबाट हामीले भाग्नुपर्छ? अँ, त्यो चोर हो! त्यसले भेडाको केही वास्ता गर्दैन। त्यो झूटो हो। त्यसमा केही सत्य छैन। त्यो दुष्ट हो। त्यो हाम्रो शत्रु शैतान हो।

तर पहिले, त्यो परमेश्वरको शत्रु हो। एक समयमा त्यो स्वर्गमा परमेश्वरको राम्रो स्वर्गदूत थियो। तर त्यो घमन्डी भयो र त्यसले आफैँलाई परमेश्वरको विरुद्धमा उचाल्यो। त्यसले परमेश्वरको विरुद्धमा लडाइँ गर्यो, र अरू धेरै स्वर्गदूतहरूले पनि त्यसलाई साथ दिए। परमेश्वर विजयी हुनुभयो किनकि उहाँ सर्वशक्तिमान्‌ हुनुहुन्थ्यो। त्यसैले परमेश्वरले शैतान र त्यसलाई पछ्याउनेहरूलाई स्वर्गबाट निकालिदिनुभयो। यसले गर्दा शैतानले परमेश्वरलाई घृणा गर्छ।

त्यो फेरि कहिल्यै परमेश्वरको नजिक आउन नसक्ने हुनाले त्यसले आफ्नो रिस परमेश्वरको सृष्टि, यस संसारका मानिसहरूमाथि पोख्दछ। त्यसले पाप गरेको हुनाले, त्यसले अरू प्रत्येकलाई पनि पाप गर्न लगाउँछ। अब फेरि पापले स्वर्गमा प्रवेश गर्ने छैन।

एउटा अर्को ठाउँ छ, त्यो ठाउँ जुन परमेश्वरले शैतान र त्यसका दूतहरूको निम्ति बनाउनुभयो। त्यो नरक हो। नरक कष्टको ठाउँ हो। त्यो कहिल्यै ननिभ्ने, बलिरहने आगो भएको ठाउँ हो। त्यो त्यही ठाउँ हो जहाँ शैतान र त्यसलाई पछ्याउनेहरूलाई अनन्तको निम्ति दण्ड दिइनेछ। यदि हामीले शैतानको आवाज सुन्ने छनौट गर्यौं भने, यस्तो भयानक ठाउँमा परमेश्वरले हामीलाई पनि पठाउनुहुनेछ।

हामीले नरकको विषयमा विचार गरेको शैतानले चाहँदैन। हामीले परमेश्वरको बारेमा विचार गरेको पनि त्यसले चाहँदैन। त्यसैले शैतानले परमेश्वरबाट हाम्रो ध्यान अर्कीतिर लैजाने कोसिस गर्दै रहन्छ। हामीले त्यसकै आवाज सुनेको त्यसले चाहन्छ।

तपाईंको मनभित्र, तपाईंले त्यो अर्को आवाज, त्यस अपरिचित व्यक्तिको आवाज सुन्नुभएको छ?

कहिलेकाहीँ त्यसले हामीलाई राम्रो कुराहरू दिन सक्छ भन्ने भ्रम पैदा गरिदिन्छ। कहिलेकाहीँ, त्यसले हामीलाई यस्तो कुरा सोच्ने तुल्याउँछ, “म अरूभन्दा राम्रो छु। म महत्त्वपूर्ण छु। म पहिलो। म बदला लिनेछु। मेरो अधिकारको निम्ति मैले लड्नु पर्छ। चोरी गर्नु ठीक हो, केवल पक्राउमा नपरियोस्‌। सबैले नै झूट बोल्छन्, म पनि बोल्न सक्छु। खराब सोचाइहरू त्यति खराब होइन किनकि मैले के सोच्दै छु त्यो कसैलाई थाहा हुँदैन। फोहोर शब्दहरू—ती हाँसोको निम्ति ठीकै छन्‌।”

अनि अरू समयहरूमा, के तपाईं यति धेरै निराश हुनुभएको छ कि तपाईंले “म असल छैन, म किन जिउने” भनी सोच्ने परीक्षामा पर्नुहुन्छ?

यी सबै दुष्टको आवाज हो। त्यो झूटो हो। त्यसैले त्यसले हामीलाई पनि झूटो बनाउन चाहन्छ। त्यो चोर हो, त्यसैले हामीले पनि चोरेको त्यसले चाहन्छ। त्यो हत्यारा हो, त्यसैले हामीले पनि अरूलाई घृणा गरेको त्यसले चाहन्छ।

जब तपाईंले त्यो आवाज सुन्नुहुन्छ, तब तपाईंलाई कस्तो महसुस हुन्छ? के यसले तपाईंलाई भित्र मनमा राम्रो महसुस गराउँछ? अहँ, यो कुराले तपाईंलाई खिन्न पार्छ। यसले तपाईंलाई लुक्न चाहने बनाउँछ। शैतान बिलकुल यस्तै छ। त्यसलाई अन्धकारमा काम गर्न मन पर्छ।

येशू, गोठालाको आवाज

के तपाईंले असल गोठालो येशूलाई चिन्नुहुन्छ? के तपाईंलाई उहाँको भेडा हुन मनपर्छ? के तपाईं उहाँको आवाजलाई चिन्न चाहनुहुन्छ?

अँ, हो, तपाईं सक्नुहुन्छ। तर पहिले तपाईंले त्यो अपरिचित व्यक्तिको आवाज सुन्नु छोड्नुपर्छ।

अब, जब तपाईं शान्त रहनुहुन्छ, तब एक मधुर स्वरमा येशूले तपाईंको जीवन उहाँलाई दिन बोलाउनुभएको तपाईंले सुन्नुहुनेछ। उहाँले तपाईंलाई तपाईंको पापहरूको निम्ति दुःखित हुन र तिनलाई स्विकार गर्न बताउँदै गर्नुभएको आवाज सुन्नुहुनेछ।

हुनसक्छ, कहिलेकाहीँ जब तपाईं अति शान्त हुनुहुन्थ्यो, तपाईंले यस्तो विचार गर्दै हुनुहुन्थ्यो होला, “मैले मेरा सबै दुःख र बोझलाई के गर्ने? म असल भइदिएको भए त! म कहिल्यै भोको नहुने वा फेरि कहिल्यै बिरामी नहुने ठाउँमा भइदिएको भए त! म मरेपछि मलाई के हुन्छ होला?”

अनि, हुनसक्छ, अरू त्यस्ता थुप्रै सोचाइहरू तपाईंसँग छन्। यो येशूले तपाईंलाई बोलाउँदै गर्नुभएको आवाज हो।

कहिलेकाहीँ यो सबै किन भइरहेको छ भन्ने कुरा तपाईंलाई थाहा नहुँदा के तपाईं दुःखित हुनुहुन्छ? वा तपाईं एक्लै नहुँदा पनि के तपाईंले एक्लो महसुस गर्नुहुन्छ? तपाईंलाई बनाउनुहुने र प्रेम गर्नुहुने परमेश्वरलाई नपाएर तपाईंले एक्लो महसुस गर्नुभएको हुन सक्छ। उहाँ आफ्नो हराएको भेडालाई बोलाउँदै गर्नुहुने गोठालो हुनुहुन्छ। उहाँले तपाईंलाई बोलाउँदै हुनुहुन्छ र खोज्दै हुनुहुन्छ।

जब तपाईं गोठालोको आवाज सुन्नुहुन्छ, तब उहाँलाई जबाफ दिनुहोस्। तपाईं आफ्नो पापको निम्ति दुःखित हुनुहुन्छ भनी उहाँलाई भन्नुहोस्‌। तपाईंले कस्तो महसुस गर्दै हुनुहुन्छ सो उहाँलाई भन्नुहोस्, र आफूलाई बचाउन उहाँसँग आग्रह गर्नुहोस्। यस्तो गर्नु भनेको प्रार्थना गर्नु हो।

के तपाईंले कहिल्यै स्वर्गको परमेश्वरलाई प्रार्थना गर्नुभएको छ? यो अहिले नै गर्नुहोस्। उहाँले तपाईंलाई सुन्नु र बुझ्नुहुनेछ। तपाईंले खोज्दै गर्नुभएको शान्ति येशूले तपाईंलाई दिनुहुनेछ।

के तपाईं उहाँको भेडा भएर उहाँको स्वर चिन्न चाहनुहुन्न? उहाँ तपाईंको साथी बन्न चाहनुहुन्छ। उहाँले तपाईंको पापको बोझ हटाइ दिनुहुनेछ। तपाईंले भित्र खुसी महसुस गर्नुहुनेछ। तपाईं पनि उहाँ जस्तै प्रेमिलो र दयालु हुनुहुनेछ। उहाँले तपाईंलाई तपाईंको डरहरूबाट विजयी हुन सहायता गर्नुहुनेछ।

अरूले तपाईं ख्रीष्टियान भएकोमा गिल्ला गर्छन् होला, तापनि येशूले तपाईंको वास्ता गर्नुहुन्छ भनी तपाईंले जान्नुहुनेछ। त्यस अपरिचित व्यक्तिले तपाईंलाई परीक्षा गरे तापनि येशूले तपाईंलाई विजय हुनको निम्ति सहायता गर्नुहुन्छ भन्ने कुरामा तपाईंले विश्वास गर्नुपर्छ।

जब तपाईं गोठालोको प्रेमिलो अँगालोमा सुरक्षित हुनुहुन्छ, तब तपाईंलाई थाहा हुन्छ कि अन्त्यमा उहाँले तपाईंलाई उहाँको साथमा उहाँको गजबको, खुसीले भरिएको घरमा परमेश्वरसँगै सधैँ जिउनको लागि लग्नुहुनेछ!

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌