तपाईं नयाँ गरी जन्मनुपर्छ

उद्धार पाउने एउटै उपाय भनेको नयाँ गरी जन्मनु हो भनी येशूले भन्नुभयो। यसको अर्थ के हो? नयाँ जन्म भनेको बप्तिस्मा लिनु, मण्डलीको सदस्य हुनु, प्रभु-भोजमा सहभागी हुनु, जीवन सुधार हुनु, प्रार्थना गर्नु, वा असल कार्यहरू गर्नु जस्ता कुनै पनि कुरा होइनन्‌। नयाँ जन्म भनेको हृदयको परिवर्तन हो। हाम्रो पापमय जीवनको निम्ति हामीले पश्चात्ताप गरेर परमेश्वरकहाँ फर्किँदा उहाँले हामीलाई नयाँ जन्म दिनुहुन्छ। हामी नयाँ जन्मको लागि कहिले तयार हुन्छौं भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। जब हामी नयाँ गरी जन्मिएका हुन्छौं तब हामीलाई सो थाहा हुन्छ। हामीसँग स्वतन्त्र विवेक, सही कुरा गर्ने इच्छा, र स्वर्गमा भएको घरको सुनिश्चयता हुन्छ।

हामी नयाँ गरी नजन्मेसम्म स्वर्गको ढोका हाम्रो निम्ति बन्द रहन्छ भनी येशूले हामीलाई भन्नुहुन्छ। त्यसैकारण, हामी सोध्छौं: मित्र, के तपाईं नयाँ गरी जन्मनुभयो? मण्डली सदस्य, के तपाईं नयाँ गरी जन्मनुभयो? यदि छैन भने, तपाईं हराउनुभएको छ। किनकी येशूले भन्नुहुन्छ, “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन” (यूहन्ना ३:३)

तपाईंले सोध्नुहोला, “नयाँ गरी जन्मनु भनेको के हो?” नयाँ जन्मको बारेमा आज थुप्रै गलत-धारणाहरू छन्‌। यो बप्तिस्मा होइन, किनकी कोही कोही बप्तिस्मा भएका थिए तापनि नयाँ गरी जन्मेका थिएनन्‌ (प्रेरित ८:१८-२५)। यो मण्डलीमा आबद्ध हुने कुरा होइन, किनकी कोही कोही चेवा गर्न घुसेका थिए (गलाती २:४)। यो प्रभुभोजको टेबुलबाट खाने पनि होइन, किनकी कोही कोहीले अयोग्य प्रकारले खाए र उचित दण्ड भोगे (१ कोरिन्थी ११:२९)। यो सुध्रने वा राम्ररी जिउने कुरा होइन, “किनकि, म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्‌, तर सक्नेछैनन्‌” (लूका १३:२४)। यो प्रार्थना गर्ने कुरा होइन, किनकी येशूले भन्नुहुन्छ, “यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढा छ” (मत्ती १५:८)।

कोही कोहीले भन्न सक्छन्‌ यदि मैले कोसिस गरेँ र मैले सकेसम्म राम्रो गरेँ, गरिबहरूलाई दिएँ, बिरामीहरूलाई भेट्न गएँ, र हरेक दिन सकेसम्म असल गरेँ भने, पक्कै पनि म नयाँ गरी जन्मन्छु (मत्ती २५:४१-४५)। होइन, हामी जो होइनौं त्यो हुन सक्दैनौं: “किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वर प्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ” (रोमी ८:७)। हामीसँग परिवर्तित हृदय हुनुपर्छ। किनकी अगमवक्ताहरूद्वारा परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु” (इजकिएल ३६:२६)।

पूरा लेख: तपाईं नयाँ गरी जन्मनुपर्छ

“त्यसो भए, नयाँ जन्म भनेको के हो त?” नयाँ जन्ममा आफैँलाई सेवा गर्ने जीवनबाट प्रभुलाई सेवा गर्ने जीवनमा जाने हृदयको परिवर्तन समावेश हुन्छ। यो त्यो बेलामा हुन्छ, जुन बेला हामी हाम्रो पापको लागि पश्चात्ताप महसुस गर्छौं र क्षमाको निम्ति येशूलाई विश्वासमा हेर्छौं। जब कुनै बच्चा जन्मन्छ, तब एउटा नयाँ जन्म हुन्छ, शरीरमा एक नयाँ व्यक्ति जन्मन्छ। त्यसैगरी, जब हामी नयाँ गरी जन्मन्छौं पवित्र आत्माद्वारा येशूमा एउटा नयाँ जन्म हुन्छ। यसैकारण यसलाई जन्म भनिन्छ – येशू ख्रीष्‍टमा एउटा नयाँ जन्म। “आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्चात्ताप गरून्‌ भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्छ” (२ पत्रुस ३:९)।

“नयाँ गरी जन्मनको लागि मैले कहिले आशा गर्न सक्छु?” धर्मशास्त्रले भन्छ, “आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने” (हिब्रू ३:७)। त्यसको मतलब जुनसुकै उमेर, समय वा स्थानमा, यदि तपाईंले त्यो बोलावट सुन्नुभयो र प्रत्युत्तर दिनुभयो भने, तपाईं पवित्र आत्माद्वारा नयाँ गरी जन्मन सक्नुहुन्छ।

“यसले कति लामो समय लिन्छ त? त्यो नयाँ जन्म हुनको लागि म बढ्नु पर्दैन त?” पर्दैन, हामी परमेश्वरको राज्यमा जन्मन्छौं र त्यसले हामीलाई सन्तान र उत्तराधिकारी बनाउँछ। “सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी” (रोमी ८:१७)। तपाईंले पूर्ण आत्मसमर्पण गर्नुभएको र क्षमाको निम्ति येशूकहाँ आउनुभएको बखतमा यसो हुन्छ।

“हामीले कसरी र कहिले यो प्राप्त गर्छौं?” हृदयलाई जाँच्नुहुने परमेश्वरले तपाईंको इमानदारितालाई देख्नुहुन्छ। उहाँ पवित्र आत्माको शक्तिद्वारा तपाईंकहाँ आउनुहुन्छ र तपाईंभित्र एउटा स्थिर आत्मा सृजना गर्नुहुन्छ (भजनसङ्ग्रह ५१:१०)। यसरी तपाईं नयाँ गरी जन्मनुहुन्छ—विश्वासद्वारा ख्रीष्ट येशूमा एउटा नयाँ सृष्टि बन्नुहुन्छ (२ कोरिन्थी ५:१७)। 

अन्ततः “म नयाँ गरी जन्मेको छु भनी म कसरी थाहा पाउँछु?” रोमी ८:१-१० मा पावलले सिकाउँछन्‌: “कुनै मानिसमा ख्रीष्‍टका आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन।” बाइबलले सिकाउँछ कि हराएकाहरू पापमा मरेका, दोषी ठहरिएका, र दुष्ट विवेक भएका हुन्छन्‌। यस संसारमा तिनीहरूको मन शरीरमा हुन्छ, तिनीहरू आशाविहीन, अनाज्ञाकारी, र परमेश्वररहित हुन्छन्‌। तर, नयाँ गरी जन्मिएको ख्रीष्टियान परमेश्वरको बालक, ख्रीष्‍टमा जीवित, बाँचेको, दण्डाज्ञा हटेको, र असल विवेक भएको हुन्छ। उसले आत्मामा मन लगाउँछ, ऊ पवित्र आत्मा र विश्वासले भरिएको हुन्छ, र उसले अनन्त जीवनको आशा राखेको हुन्छ। उसको पापहरू येशूको रगतद्वारा मेटिएका हुन्छन्‌। उसको हृदय परमेश्वरको प्रेम र शान्तिले भरिएको हुन्छ, जसले सबै ज्ञानलाई माथ गर्छ। उसले प्रभुको इच्छालाई प्रेम गर्छ, चाहना राख्छ र पूरा गर्ने शक्ति राख्छ। ऊ मृत्युपछिको आशामा र स्वर्गमा पाइने घरको प्रतिज्ञामा रमाउँछ। यस्तो किसिमको परिवर्तन भएर पनि यसलाई महसुस नगर्ने कोही होला र? मुस्किलले होला, किनकी “हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो” (रोमी ८:१६)।

यदि तपाईंले तपाईंको आत्मामा आउने त्यो शान्ति र आनन्दलाई यसरी अनुभव गर्नुभएको छैन भने, ढुक्क भएर नबस्नुहोस्‌, किनकी तपाईंले परमेश्वरलाई र आफ्नै आत्मालाई तुच्छ ठान्दै हुनुहुन्छ। तपाईं नयाँ गरी जन्मनैपर्छ।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌