तपाईंको लागि एक मुक्तिदाता

The prodigal son asking his father for his inheritance

के तपाईं खुसी व्यक्ति हुनुहुन्छ? डर र पापको दोषले तपाईंको खुसीलाई खोस्न सक्छ। तपाईंलाई लाग्न सक्छ, “म कसरी खुसी हुन सक्छु?”

तपाईंको निम्ति खुसीको खबर छ! तपाईंलाई मद्दत गर्न सक्ने एक व्यक्ति हुनुहुन्छ। उहाँले तपाईंको पापहरू क्षमा गर्न सक्नुहुन्छ र तपाईंलाई टिकिरहने  खुसी दिन सक्नुहुन्छ। उहाँको नाम येशू हो। म तपाईंलाई उहाँको बारेमा बताउन चाहन्छु।

उहाँको पिता, परमेश्वर, एक हुनुहुन्छ जसले संसारलाई बनाउनुभयो। उहाँले संसारमा भएका यावत्‌ थोक बनाउनुभयो। उहाँले तपाईंलाई र मलाई बनाउनुभयो।

परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले संसारमा भएका प्रत्येकलाई प्रेम गर्नुहुन्छ। उहाँले हामीलाई यस्तो प्रेम गर्नुहुन्छ कि उहाँले आफ्नो एक मात्र पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। जब येशू यस संसारमा हुनुहुन्थ्यो, उहाँले रोगीहरूलाई निको पार्नुभयो र निराश भएकाहरूलाई सान्त्वना दिनुभयो। उहाँले दृष्टि-विहीनहरूको आँखा खोली दिनुभयो। उहाँले मानिसहरूलाई धेरै कुराहरू सिकाउनुभयो।

पूरा लेख: तपाईंको लागि एक मुक्तिदाता

उहाँको पिताले तपाईं र मलाई गर्नुभएको त्यो महान्‌ प्रेम हामीले बुझेको येशूले चाहनुभयो। उहाँको पिताको प्रेमको वर्णन गर्न उहाँले एउटा कथा भन्नुभयो। यो कथा तपाईंले बाइबलमा भएको लूकाको पुस्तकको १५ अध्यायको ११ पददेखि २४ पदसम्ममा पढ्न सक्नुहुन्छ।

कुनै एकजना मानिसका दुईजना छोराहरू थिए। सबै कुरा राम्रै चल्दैछ भनी उसले विचार गरेको थियो। एक दिन एकजना छोराले विद्रोह गर्यो र उसकहाँ आएर भन्यो, “मलाई यो घर मन पर्दैन, म मेरो आफ्नै पारामा जिउन चाहन्छु, र म यो घर छोड्न चाहन्छु। मलाई मेरो भागमा पर्ने सम्पत्तिको अंश दिनुहोस्‌।” बुवा साह्रै निराश भए तर उसले त्यस छोरालाई सम्पत्ति भाग लगाइ दिए र उसलाई जान दिए। आफ्नो छोरोलाई फेरि कहिल्यै भेट्ने हो कि होइन भन्ने कुरामा उनी चिन्तित भए।

त्यो छोरो टाढाको देशमा गयो र आफूसँग भएको पैसाले साथीहरूसँगै मोज मस्ती गर्यो। उसले लापर्बाही प्रकारले स्वार्थी जीवन जिएर आफ्नो पैसा खेर फाल्यो। उसले सोच्यो कि उसले अति राम्रो समय बिताउँदैछ, तर अचानक उसको पैसा सकियो र उसका साथीहरूले उसलाई छोडेर गए। ऊ नितान्त एक्लो भयो र खाँचोमा पर्यो। अब उसले के गर्नुपर्थ्यो?

ऊ एकजना किसानकहाँ गयो र त्यो किसानले उसलाई सुँगुरलाई चारो हाल्ने काममा पठायो। उसलाई पुग्दो खाना पनि दिइएन। ऊ यति भोकाउँथ्यो कि उसले सुँगुरको चारो खाने मन गर्थ्यो। उसले गरेका सबै खराब कुराहरू र उसले कसरी आफ्नो बुवासँग दुर्व्यवहार गर्यो सो उसले विचार गर्न सुरु गर्यो। ऊ झन्‌ झन्‌ दयनीय भयो।

The prodigal son feeding the pigs

उसको आफ्नो बुवा कति मायालु हुनुहुन्थ्यो र ऊ अझै घरमै भएको भए उसलाई कति असल कुराहरू उहाँले दिनुहुन्थ्यो होला भनी एक दिन उसले सम्झियो। उसको बुवाको नोकरहरूले समेत पुग्दो खाना खान्थे।

“मैले मेरो बुवाको विरुद्धमा यी सबै कुराहरू गरिसकेपछि, के म फर्केर जान सक्छु त?  के उहाँले अझै मलाई माया गर्नुहुन्छ होला त? म उहाँको छोरा हुन योग्यको छैन। उहाँले मलाई अपनाउनु भयो भने पनि म उहाँको एक नोकर सरह मात्र हुनेछु” भनी उसले सोच्यो।

झट्टै  ऊ आफ्नो खुट्टामा खडा भयो र आफ्नो बुवाको घरतर्फ जान थाल्यो। उसको बुवाले उसलाई क्षमा गर्ला कि नगर्ला भन्ने कुरा हेर्न बाँकी थियो।

बुवा त छोराले घर छोडेदेखि नै छोरोको प्रतिक्षा गर्दै रहेको थियो। उसले प्रायः सोच्थ्यो, “के मेरो छोरो कहिल्यै फर्केर आउँला?” तब एक दिन कोही परबाट आउँदै गरेको उसले देख्यो। के यो उसको छोरो थियो त? उसकै छोरो आएको जब उसले देख्यो, तब ऊ आफ्नो हातहरू फैलाउँदै ऊतिर दौडयो।

छोराले भन्यो, “बुवा, मैले तपाईंको विरुद्धमा पाप गरेको छु। म तपाईंको छोरो भनिने लायकको छैन।”

तर बुवाले भने, “उसको निम्ति सबैभन्दा राम्रो लुगाहरू ल्याओ र भोज तयार गर। मेरो छोरो हराएको थियो तर अब पाइएको छ।”

The father welcoming the prodigal son home

हामी सबै नै यो छोरो जस्तै छौं। हामी सबै नै परमेश्वर, हाम्रा बुवाबाट बरालिएका छौं। उहाँले हामीलाई दिनुभएको अवसरहरू र धेरै असल कुराहरू हामीले खेर फालेका छौं। हामी स्वार्थी भएर जिएका छौं र हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं। आज हाम्रा स्वर्गीय पिताले हामीलाई येशूकहाँ आउन निम्तो दिनुहुन्छ। उहाँ आफ्ना हातहरू फैलाउँदै हामीलाई प्रतिक्षा गर्दै हुनुहुन्छ।

येशूले हाम्रो र सारा संसारको पापको निम्ति आफ्नो जीवन बलिदानको रूपमा दिएर उहाँको प्रेम हामीलाई देखाउनुभयो। उहाँले आफैँलाई पापी मानिसहरूको हातबाट क्रूसमा काँटी ठोक्न दिनुभएर पीडा र तिरस्कार सहन गर्नुभयो। परमेश्वरको शक्तिमा उहाँ मृतकबाट जीवित हुनुभयो र सदाको लागि जिउनुहुन्छ।

येशूकहाँ आउनुहोस्‌ र उहाँसँग तपाईंको आफ्नो पापको क्षमा माग्नुहोस्‌। तपाईंले गर्नुभएको गल्तीहरूको निम्ति तपाईं दुःखित हुनुभएको जब उहाँले देख्नुहुन्छ, उहाँले तपाईंलाई क्षमा गर्नुहुन्छ र उहाँले बगाउनुभएको रगतद्वारा तपाईंको सबै पाप धोइ पखाल्नुहुन्छ। यो एक अचम्मको अनुभव हुनेछ! तपाईं एक नयाँ व्यक्ति बन्नुहुनेछ। जीवनले नयाँ अर्थ लिनेछ। येशूले तपाईंको दोष र डरलाई आनन्द र खुसीमा परिणत गर्नुहुनेछ। उहाँ तपाईंको मुक्तिदाता हुनुहुनेछ।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌