अशान्त संसारमा मनको शान्ति

Peace

“शान्ति—हाम्रो राष्ट्र, परिवार र मुख्य गरी हाम्रो हृदय र मनको निम्ति—कहाँ छ शान्ति?” यो दर्दनाक चीत्कार युगौँदेखि सुनिँदै आएको छ। के तपाईंको हृदयको पनि चीत्कार यही हो?

मानिसहरू थकित र चिन्तित छन्‌। निःसन्देह नै हामीलाई अगुवाइ र परामर्श, सुरक्षा र निश्चयताको आवश्यकता छ। हामीलाई मनको शान्तिको आवश्यकता छ, हामीलाई यो चाहिएको छ।

मनको शान्ति—कति गजबको सम्पत्ति! के यस्तो सम्पत्ति यति बिघ्न द्वन्द्व र चिन्ता, भद्रगोल र दुःखले भरिएको संसारमा पाउन सकिन्छ होला?

पूरा लेख: अशान्त संसारमा मनको शान्ति

चरम खोजी जारी छ! धेरै मानिसहरूले शान्तिलाई सम्मान र समृद्धिमा, सुख-सयल र शक्तिमा, शिक्षा र ज्ञानमा, मानवीय सम्बन्धहरू र विवाहमा खोजिरहेका छन्‌। उनीहरूले आफ्नो टाउको ज्ञानले र आफ्नो थैलो धनले भर्ने इच्छा राख्छन्‌, तर उनीहरूको आत्मा भने रित्तो रहन्छ। कोही भने लागू-औषध वा मदिरा सेवन गरेर जीवनको यथार्थहरूबाट भाग्न खोज्दै गरेका हुन्छन्‌, तर उनीहरूले खोजेको शान्तिले उनीहरूलाई छल गर्छ। उनीहरू अझै पनि रित्तो र एक्लो नै हुन्छन्‌, दुःखित संसारमा अझै पनि दुःखित मन लिएर रहेका हुन्छन्‌।

भद्रगोल स्थितिमा मानिस

परमेश्वरले मानिसलाई सृजनुभयो र उसलाई एउटा सुन्दर बगैँचामा सिद्ध शान्ति, आनन्द र खुसी अनुभव गर्न राख्नुभयो। तर जब आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरे, तत्कालै उनीहरू दोषको भावले आक्रान्त भए। पहिले उनीहरूले परमेश्वरको उपस्थितिको चाहना गर्थे भने अहिले उनीहरू आफैँ लाजले लुके। उनीहरूले अनुभव गरेको त्यस शान्ति र आनन्दलाई अब दोष र डरले प्रतिस्थापन गर्यो। अशान्त संसार—अनि अशान्त मनको सुरुवात मानिसको पापबाट नै भएको थियो।

हाम्रो आत्माले परमेश्वरको चाह गर्ने भएतापनि हाम्रो पापमय स्वभावले उहाँको चालहरूको विरुद्धमा विद्रोह गर्छ। यो भित्री द्वन्द्वले तनाव र चिन्ता उत्पन्न गर्छ। जब हामी पनि आदम र हव्वा जस्तै हाम्रै इच्छा र अभिलाषामा आफू-केन्द्रित हुन्छौं, तब हामी पनि विचलित र व्याकुल बन्छौं। हामीले जति धेरै आफूमाथि जोड दिन्छौं, हामी त्यति नै धेरै दुःखित बन्छौं। जीवनका अनिश्चितताहरू र परिवर्तित, क्षय हुँदै गरेको संसारले हाम्रो सुरक्षालाई हल्लाउँछ र हाम्रो शान्तिलाई बिथोल्छ।

तपाईंले यसलाई पहिचान वा स्वीकार नगर्नुभएको हुन सक्छ, तर तपाईंभित्र भएको बेचैनीको कारण पाप हुन सक्छ। धेरै मानिसहरूले शान्ति पाउन बाहिरी र भौतिक कुराहरूमाझ खोजी गर्छन्‌। उनीहरूको मन अशान्त हुनमा उनीहरूले अशान्त संसारलाई दोष दिन्छन्‌। तर उनीहरूले आफ्नै हृदयभित्र हेर्न भने छुटाउँछन्‌।

येशू ख्रीष्ट, शान्तिका राजकुमार

हामीलाई बनाउनुहुने र हामीलाई बुझ्नुहुने परमेश्वरसँग हाम्रा जीवनका सबै पक्षहरूलाई एकतामा नल्याएसम्म साँचो शान्ति हुन सक्दैन। ख्रीष्टप्रति पूर्ण समर्पित हुँदा मात्र यो सम्भव हुन्छ। उहाँ यस संसारको मालिक मात्र हुनुहुन्न, तर उहाँले हाम्रो जीवनलाई सुरुदेखि अन्तिमसम्मै बुझ्नु पनि हुन्छ। “अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति दिन, र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याउन” (लूका १:७९) उहाँ यस संसारमा आउनुभयो र यसरी उहाँले हाम्रो बारेमा सोच्दै हुनुहुन्थ्यो।

 येशूले अन्धकारको निम्ति ज्योति, कलहको निम्ति शान्ति, शोकको निम्ति आनन्द, निराशाको निम्ति आशा, र मृत्युको निम्ति जीवन प्रदान गर्नुहुन्छ। उहाँले यूहन्ना १४:२७ मा भन्नुहुन्छ, “शान्ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। ... तिमीहरूको हृदय व्याकुल नहोस्‌ र भयभीत नहोस्‌।”

पश्चात्तापले मनको शान्ति ल्याउँछ

जब तपाईं पापको गह्रौँ भारीले थिचिएको महसुस गर्नुहुन्छ, तब तपाईंको लागि उपाय यो हो: “पश्चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्‌, कि तपाईंहरूका पाप मेटिऊन्‌” (प्रेरित ३:१९)। येशूले तपाईंलाई सबैभन्दा अर्थपूर्ण, जीवन परिवर्तनको अनुभव गर्नको लागि निम्तो दिनुहुन्छ। येशूले भन्नुभयो, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। पहिलो यूहन्नाको पुस्तक १ अध्यायको ९ पदले प्रतिज्ञा गर्छ, “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्छ।” के तपाईं उहाँको निम्तोलाई स्वीकार गर्नुहुन्छ?

जब तपाईं येशूकहाँ आउनुहुन्छ, तपाईंले क्षमा र स्वतन्त्रता पाउनुहुनेछ। रिस र अक्षमाको साटोमा तपाईंको हृदय प्रेम र कृपाले भरिन्छ। येशूलाई तपाईंको हृदयमा राज गर्न दिएर तपाईंले शत्रुहरूलाई पनि प्रेम गर्नुहुनेछ। यो ख्रीष्टको छुटकारा गर्ने रगतको शक्तिद्वारा सम्भव हुन्छ।

रहिरहने शान्ति

ख्रीष्टियानको रूपमा, परमेश्वरमा विश्वास गर्नु र उहाँको वास्तामा भरोसा गर्नु भनेको डर र चिन्ताको उपचार गर्नु हो। अनन्तदेखि अनन्तसम्म नबदलिनुहुने परमेश्वरमा भरोसा गर्नुमा कति आराम छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई सदैव वास्ता गर्नुहुनेछ। त्यसैले, किन चिन्ता गर्ने र व्याकुल हुने? पहिलो पत्रुस ५ अध्यायको ७ पदमा लेखे जस्तै अभ्यास गर्न सिक्नुहोस्‌, “तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।”  हामीलाई यस्तो प्रतिज्ञा पनि दिइएको छ, “जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ” (यशैया २६:३)।

येशू ख्रीष्ट तपाईंको हृदयमा हुनुहुन्छ भने शान्तिको निम्ति तपाईंको खोजी पूरा भएको छ। उहाँले तपाईंलाई शान्ति र अमन चैन दिनुहुनेछ, जुन उहाँमाथि भरोसा गरेर मात्र आउँछ। तपाईंले पनि कविसँगै यसरी भन्न सक्नुहुनेछ:

जहाँ छैन शान्ति त्यहाँ शान्ति पाएँ
जहाँ चल्छ हुरी त्यहाँ अमन चैन  
गुप्त ठाउँ जहाँ म आमनेसामने भएँ
मेरो मालिकसँग दुःखमा छु म भन्ने छैन

-राल्फ स्पाल्डिङ कुशम्यान

अशान्त संसारमा तपाईंले मनको शान्ति पाउनुहुनेछ! आफ्नो हृदयको ढोका ख्रीष्टको निम्ति खोल्नुहोस्‌—अहिले नै—अनि कुनै बेला तपाईंको लागि उहाँले स्वर्गको ढोका खोल्नुहुनेछ, जहाँ सिद्ध शान्तिले सदासर्वदा राज्य गर्नेछ।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌

पश्चात्ताप कृपाको ढोका

पवित्र परमेश्वरले मानिसलाई पापको दोषी भेट्नुभएको र मृत्युको फैसला सुनाउनुभएको छ भन्ने कुरा के तपाईंलाई थाहा छ? मानिसले यो अनन्त मृत्युबाट उम्कने हो र अनन्तको लागि बाँच्ने हो भने, उसले परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ। यस अर्थमा कृपा भनेको मानिस दण्ड पाउने योग्य हुँदा हुँदै पनि परमेश्वरले उसबाट दण्ड हटाइदिनु हो। परमेश्वरले मानिसहरूमा आफ्नो कृपा बिना सर्त दिनुहुन्न, यद्यपि मुक्ति सित्तैँमा पाइन्छ, बिना मूल्य पाइन्छ, र कमाउन सकिँदैन। परमेश्वरले कृपा दिनु हुँदाको सर्त भनेको पश्चात्ताप हो।

बप्तिस्मा दिने यूहन्ना परमेश्वरको वचन प्रचार गर्दै आए र उनको सन्देश सरल र शक्तिशाली थियो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ” (मत्ती ३:२)। परमेश्वरका पुत्र येशूले त्यही सन्देश दिनु हुँदै आफ्नो सेवकाइ सुरु गर्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ” (मत्ती ४:१७)। मुक्तिको निम्ति पश्चात्ताप आवश्यक तत्त्व हो, जस्तो कि प्रेरित पत्रुसले भने, “यसकारण पश्चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्‌, कि तपाईंहरूका पाप मेटिऊन्‌” (प्रेरित ३:१९)। पश्चात्तापमार्फत नै कृपाको ढोका खोलिन्छ र मुक्ति प्राप्त हुन्छ।

सबैले पाप गरेका छन्‌

हाम्रो संसारमा कैयौँ मानिसहरू छन्‌, र धेरै अर्थमा हामी एक अर्काबाट भिन्न छौं। तर यो सन्देश हामी सबैको निम्ति साझा छ: “किनकि सबैले पाप गरेका छन्‌, र परमेश्वरको महिमासम्म पुग्‍नबाट चुकेका छन्‌” (रोमी ३:२३)। अझै थप कुरा सुन्नुहोस्‌, “धर्मी कोही छैन, एक जना पनि छैन” (रोमी ३:१०)। परमेश्वरले आफ्ना अगमवक्ता यशैयाद्वारा बोल्नुभयो, “हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं” (यशैया ५३:६)। धर्मशास्त्रका यी खण्डहरूमा भएको केन्द्रीय विचारलाई तपाईंले याद गर्नुभयो? “सबै बरालिएका छौं।” “सबैले पाप गरेका छन्‌।” “धर्मी कोही छैन।” के यसमा तपाईं पनि समावेश हुनुहुन्न र? तपाईंको प्राण, तपाईंको जीवन परमेश्वरको अधीनमा छ। परमेश्वरलाई आफ्नो जीवनको मालिकको रूपमा पहिचान नगर्ने पुरुष वा स्त्री अनाज्ञाकारिता र पापमा रहन्छ। “जुन प्राणले पाप गर्छ, त्यही मर्छ” (इजकिएल १८:४)।

पूरा लेख: पश्चात्ताप कृपाको ढोका

पापले अलग गर्छ

तपाईंको पापहरूले तपाईंलाई परमेश्वरबाट अलग गरेको छ। तपाईंले आफूभित्र एउटा चाहना महसुस गर्नुहुन्छ जुन तपाईंले वर्णन गर्न सक्नुहुन्न। तपाईंले आफू त्यागिएको र परमेश्वरले तपाईंलाई सुन्नु नभए झैँ महसुस गर्न सक्नुहुन्छ। यसको कारण परमेश्वरले औँल्याउनुहुन्छ, “निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्न नसक्ने गरी बाक्लो भएको छ। तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्‌, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्‍नुहुनेछैन” (यशैया ५९:१, २)। फेरि पनि, “किनकि पापको ज्याला मृत्यु हो” (रोमी ६:२३)। जसै तपाईंले तपाईंको जीवन र तपाईंको पापहरूको बारेमा सोच्नुहुन्छ, परमेश्वरको बारेमा पनि सोच्नुहोस्‌। परमेश्वर पापरहित हुनुहुन्छ, त्यसैले उहाँ पवित्र, धार्मिक, र न्यायी हुनुहुन्छ। परमेश्वरले भन्नुहुन्छ पापको न्याय हुनैपर्छ: “किनकि हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्‌, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ।” (उपदेशक १२:१४)। तपाईं र परमेश्वरको बीचमा एउटा ठूलो धाँदो छ। पवित्र परमेश्वर र पापी मानिसको बीचमा भएको त्यो धाँदोलाई जोड्ने बाटो नभेट्नुभएसम्म तपाईंले अनन्त मृत्यु भोग्नुपर्छ! (लूका १६:२६) तर सुन्नुहोस्‌, एउटा उपाय छ—तपाईंको निम्ति आशा छ!

येशूले ढोका खोल्नुहुन्छ

यो कुरा सत्य हो कि परमेश्वरले पापको निम्ति मृत्युको फैसला गर्नुभएको छ, तर उहाँ प्रेमको परमेश्वर पनि हुनुहुन्छ। “परमेश्वर प्रेम हुनुहुन्छ” (१ यूहन्ना ४:१६)। तपाईं पापमा बाँच्दै गर्नुभएको भएतापनि परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ। (यूहन्ना ३:१६) परमेश्वरले पापमाथि आफ्नो इन्साफ कार्यान्वयन गर्नुहुनेछ, र यदि परमेश्वरले यो इन्साफ मानिसमाथि खन्याउनुहुने हो भने, ऊ तत्कालै मर्ने थियो। त्यसैले कोही पनि नाश नहोस्‌ भन्ने इच्छा राखेर परमेश्वरले आफ्नै पुत्र येशूलाई हाम्रो पापहरूको दण्ड भोग्नलाई पठाउनुभयो ताकि हामी बाँच्न सकौं। बाइबलले भन्छ: “यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख” (रोमी ११:२२)। परमेश्वरको दयाले मानिसलाई बचाउने इच्छा राख्छ तर उहाँको इन्साफले दण्डको माग गर्छ।

येशू यस संसारमा हाम्रो प्राणहरूको उद्धार गर्ने खास उद्देश्यको निम्ति आउनुभयो। उहाँ पवित्र, पापरहित, दोषरहित परमेश्वरका थुमा हुनुहुन्थ्यो। परमेश्वरले हाम्रो पापहरू र दोष लिएर तिनलाई येशूमाथि राख्नु हुँदाखेरि हाम्रो निम्ति उहाँको प्रेम प्रमाणित भयो। उहाँको दयालाई हेर्नुहोस्‌! हाम्रो ठाउँमा येशू अब पाप बन्नुभयो, र परमेश्वरको न्यायलाई सन्तुष्ट पार्न उहाँ क्रूसमा टाँगिनुभयो। उहाँले त्यो पीडा र चोटलाई सहन गर्नुभयो र त्यसपछि मर्नुभयो। हाम्रो पापको मूल्य चुकाइयो। परमेश्वरको कठोरतालाई हेर्नुहोस्‌!

पश्चात्ताप, हाम्रो भूमिका

येशू तपाईंको लागि मर्नुभएको तपाईं देख्न सक्नुहुन्छ? उहाँ तपाईंको पापहरूको कारणले गर्दा मर्नुभयो। येशूलाई वास्तवमा कसले क्रूसमा टाँग्यो? के यहूदी शासकहरू, वा पिलातस, वा रोमी सिपाहीहरू मात्र जिम्मेवार थिए? हजारौं सङ्ख्यामा भएका मानिसहरूको भीडलाई प्रेरित पत्रुसले प्रचार गरे। पत्रुसको सन्देश नितान्त जायज थियो: “... यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो” (प्रेरित २:२३)। के तपाईं त्यो क्रूसमा टाँगिनुभएको येशूलाई हेरेर आफ्नो पाप स्वीकार गर्नुहुन्छ?

परमेश्वरको आत्माको शक्तिद्वारा तपाईंले महसुस गर्नुहुनेछ कि तपाईं विकराल रूपमा हराउनुभएको छ। जसै यो आभास तपाईंको हृदयमा गह्रौँ हुन्छ, यसले पापको बोझ र पछुतो ल्याउनेछ। निराशामा तपाईं चिच्याउनुहुनेछ, “हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्‌!” (लूका १८:१३)। जसै परमेश्वरले तपाईंको निश्चल बिन्ती सुन्नुहुन्छ, उहाँले तपाईंलाई बचाउनुहुनेछ। तपाईंको बोझ हट्नेछ, र तपाईं नयाँ गरी जन्मनुहुनेछ। जसै तपाईंले उहाँलाई पछ्याउँदै गर्नुहुन्छ, तपाईं अघिका पापको बाटोहरूबाट फर्केर स्वर्गीय कुराहरूमा लाग्नुहुनेछ। उहाँकहाँ आउने सबैको हृदयमा परमेश्वरले ल्याउनुहुने पश्चात्तापको कार्य यही हो। तब तपाईंको हृदय धोएर शुद्ध हुनेछ, र तपाईंले शान्ति, आनन्द, र सुरक्षा पाउनुहुनेछ।

अन्तिममा, पश्चात्तापले ख्रीष्ट र परमेश्वरको इच्छाप्रति अति गहिरो सराहना र भक्ति उत्पन्न गर्छ। जब कुनै उपाय नभएर हामी मर्ने अवस्थामा थियौँ, ख्रीष्टले भन्नुभयो, “मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। “हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो” (१ यूहन्ना ४:१९)।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌

तपाईंको लागि एउटा साथी

येशू तपाईंको साथी

Jesus is your friend

मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस्‌ भन्ने म चाहन्छु। उहाँको नाम येशू हो। कति अचम्म उहाँ तपाईंको पनि साथी बन्न चाहनुहुन्छ!

उहाँको बारेमा मलाई केही भन्न दिनुहोस्‌। यो सत्य कथा हामी बाइबलमा पढ्छौं। बाइबल सत्य छ। यो परमेश्वरको वचन हो।

संसार र यसमा भएका यावत्‌ थोक बनाउने परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ। उहाँले सबै थोकलाई जीवन र श्वास दिनुहुन्छ।

पूरा लेख: तपाईंको लागि एउटा साथी

God's creation

येशू परमेश्वरको पुत्र हुनुहुन्छ। परमेश्वरले उहाँलाई स्वर्गबाट पृथ्वीमा हाम्रो आफ्नै मुक्तिदाता हुनको निम्ति पठाउनुभयो। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो (अर्थात्‌ उहाँले तपाईं र मलाई प्रेम गर्नुभयो) कि उहाँले आफ्ना एकमात्र पुत्र, येशू, (हाम्रो पापको निम्ति मर्नको लागि) दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌। (बाइबलमा भएको यूहन्नाको पुस्तकको ३ अध्यायको १६ पदमा लेखिएको छ)

येशू यस पृथ्वीमा सानो बालकको रूपमा आउनुभयो। पृथ्वीमा उहाँको बुवा योसेफ र आमा मरियम हुनुहुन्थ्यो। उहाँ गोठमा जन्मनुभयो र डुँडमा पस्रनुभयो।

Jesus' birth

येशू आफ्नो बुवाआमाको साथमा हुर्कनुभयो र उहाँले बुवाआमाको आज्ञा पालन गर्नुभयो। खेल्नलाई उहाँसँग उहाँका भाइहरू र बहिनीहरू थिए। उहाँले आफ्नो बुवा योसेफलाई सिकर्मी काममा सहायता गर्नुभयो।

Jesus and the lad with food

जब येशू परिपक्व मानिस हुनुभयो, उहाँले मानिसहरूलाई उहाँको स्वर्गमा हुनुहुने पिताको बारेमा सिकाउनुभयो। परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा उहाँले तिनीहरूलाई देखाउनुभयो। उहाँले रोगीहरूलाई निको पार्नुभयो र कष्टमा परेकाहरूलाई सान्त्वना दिनुभयो। उहाँ बालबालिकाहरूको साथी हुनुहुन्थ्यो। बालबालिकाहरू उहाँको नजिक आएको उहाँले चाहनुहुन्थ्यो। तिनीहरूसँग पनि उहाँले समय बिताउनुभयो। बालबालिकाहरूले येशूलाई प्रेम गर्थे र उहाँसँग हुन रुचाउथे।

केही मानिसहरूले येशूलाई रुचाउँदैन थिए। तिनीहरूले उहाँलाई ईर्ष्या गर्थे, र उहाँलाई घृणा समेत पनि गर्थे। तिनीहरूले उहाँलाई यति बिघ्न घृणा गर्थे कि तिनीहरूले उहाँलाई मार्न चाहे। एक भयावह दिनमा तिनीहरूले येशूलाई क्रूसमा काँटी ठोकेर मारे। येशूले केही गल्ती गर्नुभएको थिएन। उहाँ हाम्रो सट्टामा मर्नुपर्थ्यो किनकि तपाईंले र मैले गल्ती गरेका थियौँ।

Jesus on the cross

येशूको कथा उहाँको मृत्युसँगै टुङ्गिँदैन। परमेश्वरले उहाँलाई मृतकबाट उठाउनुभयो! उहाँका चेलाहरूले उहाँलाई देखे। अनि एक दिन उहाँ स्वर्ग फर्कनुभयो।

आज उहाँले तपाईंलाई देख्न र सुन्न सक्नुहुन्छ। उहाँलाई तपाईंको बारेमा सबै कुरा थाहा छ र उहाँले तपाईंको वास्ता गर्नुहुन्छ। केवल प्रार्थनामा उहाँकहाँ आउनुहोस्‌। उहाँलाई तपाईंको सबै दुःखको बारेमा बताउनुहोस्‌। तपाईंलाई मद्दत गर्न उहाँ तयार हुनुहुन्छ। तपाईंले जुनसुकै समयमा, जुनसुकै ठाउँमा, आफ्नो टाउको निहुराएर प्रार्थनामा उहाँसँग कुरा गर्न सक्नुहुन्छ।

एक दिन उहाँ फेरि आउँदै हुनुहुन्छ! उहाँमाथि विश्वास गर्ने जति सबैलाई स्वर्गको घरमा उहाँले लानुहुनेछ।

Jesus listening to a woman pray

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌