त्यो कोठा

पवित्र धर्मशास्त्र बाइबलमा हामी पढ्छौं, “मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍ने उभिरहेका देखें, र पुस्‍तकहरू खोलिए। अर्को एउटा पुस्‍तक पनि खोलियो, जो जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो” (प्रकाश २०:१२)। परमेश्वरले अभिलेख राख्नुहुन्छ भन्ने कुराको यो प्रमाण हो।

संयुक्त राज्य अमेरिका, मेरील्यान्डका एक युवा मानिस जोसुवा ह्यारिसले प्युर्टो रिकोमा केही समय बिताउँदै थिए। एक रात उनले एउटा सपना देखे। परमेश्वरले उनलाई यो सपना विश्वासयोग्यताको कमीको निम्ति हप्की झैँ गरी दिनुभएको थियो भन्ने उनलाई लाग्यो। यो सपनाले उनलाई येशू ख्रीष्टको र उहाँको रगतको जीवन-रूपान्तरण गर्ने शक्तिको सम्झना दिलायो। यो हामी तपाईंलाई बताउन चाहन्छौं।

<><><><>

(त्यो कोठा)

सचेतन र सपनाहरूको बीचमा भएको त्यो ठाउँमा, मैले आफैँलाई त्यस कोठामा पाएँ। त्यहाँ खासै महत्त्वपूर्ण विशेषताहरू सञ्चय गरिएको थिएन, केवल एउटा भित्ता साना - साना सूचक-कार्डका फाइलहरूले भरिएको थियो। ती पुस्तकालयहरूमा हुने जस्तै खालका थिए, जसमा वर्णानुक्रमअनुसार लेखक वा विषयको शीर्षकको सूची राखिन्छ। तर भुइँदेखि भित्री छतसम्मै थाक लागेको र हरेक दिशामा नटुङ्गिने जस्ता देखिने यी फाइलहरूमा अति फरक शीर्षकहरू थिए। फाइलहरू भएको भित्ताको नजिक जसै म गएँ, मेरो ध्यान आकर्षण गर्ने पहिलो फाइलमा “मैले चाहेका केटीहरू” लेखिएको थियो। मैले यो खोलेँ र त्यहाँ राखिएका कार्डहरू पल्टाउन थालेँ। मैले झट्टै यो बन्द गरेँ, हरेक कार्डमा लेखिएका नामहरूलाई मैले पहिचान गर्न सकेकोमा म झस्किएँ।

अनि कसैले केही नभनिकनै म खासमा कहाँ छु भन्ने कुरा मैले चाल पाएँ। साना-साना फाइलहरू सहितका यो अजीव कोठा मेरो जीवनसँग सम्बन्धित घटनाहरूको एउटा कोरा सूची-फिरिस्त प्रणाली नै रहेछ। मेरो हरेक पलका कार्यहरू यहाँ लेखिएका रहेछन्‌, ठूला र साना, यति विस्तारित कि मेरो सम्झनाले ठम्याउन पनि सकेन।

एक किसिमको आश्चर्य र कौतूहलताको भावसँगै त्रास पनि मभित्र उब्जियो जसै मैले यताउताबाट फाइलहरू खोल्न र त्यसमा भएका विवरणहरू केलाउन थालेँ। कुनै कुनैले आनन्द र मीठो सम्झना ल्याए भने अरूहरूले लाज र ग्लानि भाव यति बिघ्न ल्याए कि कसैले मलाई हेर्दै छ की भनी मैले मेरो कुममाथिबाट पछाडि फर्कँदै हेरेँ। “साथीहरू” नामक फाइल “मैले धोका दिएका साथीहरू” भनी लेखिएको फाइलसँगै थियो।

शीर्षकहरू सामान्यदेखि अति अनौठोसम्मका थिए। “मैले पढेका पुस्तकहरू,” “मैले बोलेका झूटहरू,” “मैले प्रदान गरेका सान्त्वनाहरू,” “म खुब हाँसेका चुड्किलाहरू।” कुनै-कुनै त बिलकुलै हाँसोउठ्दा थिए: “मेरो भाइहरूलाई मैले चिच्याएर कराएका कुराहरू।” अरू कुनैमा भने म हाँस्न नसकेको: “मनमनै मैले मेरा आमा-बुवालाई सरापेका कुराहरू।” ती विवरणहरूद्वारा म चकित हुन कहिल्यै थामिएको छैन। प्रायजसो फाइलहरूमा मैले अपेक्षा गरेभन्दा अझ बढी कार्डहरू हुन्थे। कुनै कुनैमा भने मैले आशा गरेभन्दा कम कार्डहरू हुन्थे।

मैले जिएको जीवनको पूरा मात्रा देखेर म व्याकुल थिएँ। मेरो २० वर्षे जीवनमा यी हजारौं, सम्भवतः दसौँ लाख, कार्डहरू लेख्ने समय मसँग हुन सक्थ्यो होला त? तर हरेक कार्डले यो सत्यतालाई सुनिश्चित गर्थ्यो। हरेक मेरो आफ्नै हस्तलेखनमा थियो। हरेकमा मेरो आफ्नै हस्ताक्षर थियो।

जब मैले “मैले सुनेका गीतहरू” तानेँ, मैले चाल पाएँ कि तिनको विवरण समावेश गर्ने फाइल त ठूलै रहेछ। त्यसभित्र कार्डहरू अति खँदिलो प्रकारले रहेका थिए, तापनि अर्को दुई वा तीन हातसम्ममा पनि यस फाइलको पुछार मैले भेटेको थिइनँ। मैले यसलाई बन्द गरेँ, साह्रै लज्जा बोध भयो, सङ्गीतको गुणस्तरको कारणले होइन, तर गीत सुन्नलाई त्यस फाइलले प्रतिनिधित्व गरेको अत्याधिक मात्राको समयको कारणले गर्दा।

जब म “लालसापूर्ण विचारहरू” लेखिएको फाइलमा आएँ, मेरो सारा शरीर सिरिङ्ङ भएर चिसो भयो। मैले केवल एक इन्च जति मात्र फाइललाई तानेँ, यसको आकार परीक्षण गर्ने इच्छाले त होइन, अनि एउटा कार्ड थुतेँ। यसमा भएको विस्तारित विवरण देखेर मेरो आङ सिरिङ्ङ भयो। यस्तो पल पनि अभिलेख गरिएको रहेछ भन्ने कुरा सोचेर म वाक्क भएँ।

अचानक मैले पाशविक आक्रोश जस्तो अनुभव गरेँ। एउटा विचारले मेरो मनलाई कब्जा गर्यो: “यी कार्डहरू अरू कसैले कहिल्यै देख्नुहुन्न! मैले यी सब नष्ट गर्नुपर्छ!” बौलट्टीपनको सनकमा मैले त्यो फाइल बाहिर तानेँ। अब यसको आकारको खासै मलाई मतलब भएन। मैले त्यो फाइल रित्त्याएर ती कार्डहरूलाई जलाउनु थियो। तर जसै मैले यो फाइललाई एउटा कुनाबाट तानेर भुइँमा बजारेँ, मैले एउटै कार्ड पनि भताभुङ्ग पार्न सकिनँ। म व्यग्र भएँ र एउटा कार्ड तानेँ, तब चाल पाएँ कि मैले च्यात्न खोजेको यो कार्ड त फलामको पाता जत्तिकै बलियो थियो।

पराजित र पूर्ण विवश भएर, मैले त्यो फाइललाई त्यसको यथास्थानमा फर्काएर राखेँ। भित्तातिर मेरो निधार टेकाएर मैले एउटा लामो, आफैँलाई सहानुभूति प्रकट गर्ने सुस्केरा हालेँ। अनि मैले यो देखेँ। त्यसको शीर्षक “मैले सुसमाचार सुनाएका मानिसहरू” भन्ने थियो। यसको समात्ने ठाउँ यसको वरिपरि भएका अन्य फाइलहरूको भन्दा ठूलो थियो, अलि नयाँ, अनि प्रायः प्रयोग नगरिएको खालको थियो। मैले यसको समात्ने ठाउँबाट तानेँ र तीन इन्च जति लामो परेको सानो बाकस मेरो हातमा झर्यो। एउटा हातमा राखेर यस बाकसमा भएको कार्डहरू मैले गन्न सक्थें।

अनि त आँसु झर्यो। म रुन थालेँ। यति बेसरी सुकसुकाएँ कि पीडा बोध भयो, पेटमा सुरु भएर पुरै शरीरलाई कम्पन गर्यो। मैले मेरो घुँडा टेकेँ र खुब रोएँ। लाजको कारणले म रोएँ, यो सबै कुराहरूको लज्जाबोध भएकोले रोएँ। आँसुले भरिएका मेरा आखाँहरूमा ती फाइलका पङ्कति भएका तख्ताहरू घुम्न थाले। यो कोठाको बारेमा कसैले पनि कहिल्यै थाहा पाउनुहुन्न। मैले यो कोठामा ताला लगाएर साँचो लुकाउनुपर्छ।

तर जसै मैले आँसु पुछेँ, मैले उहाँलाई देखेँ। अहँ, दया गरी उहाँ नहुनुभएको होस्‌। यहाँ उहाँ नहुनुभएको होस्‌। अहो, अरू जो सुकै आए पनि येशू नआउनुभएको होस्‌।

उहाँले फाइलहरू खोलेर कार्डहरू पढ्न सुरु गर्नुहुँदा मैले विवश भएर नियालेँ। उहाँको प्रत्युत्तर नियाल्न मलाई साह्रै गाह्रो भयो। अनि ती पलहरूमा मैले उहाँको मुहार हेर्न आफैँलाई सक्ने तुल्याउँदा, मैले मेरो आफ्नै भन्दा गहिरो शोक उहाँमा देखेँ। उहाँ जानाजान सबैभन्दा खराब बाकसहरूतिर जानुभएको भान हुन्थ्यो। हरेक थोक किन उहाँलाई पढ्नु परेको थियो?

अन्ततः उहाँ फर्कनुभयो र कोठाको त्यस ठाउँबाट मलाई हेर्नुभयो। उहाँले मलाई आफ्नो आँखामा दया देखाएर हेर्नुभयो। तर यो यस्तो दया थियो जसको निम्ति मलाई रिस उठेन। मैले मेरो टाउको निहुराएँ, मेरा हातहरूले आफ्ना मुहार छोपेँ, अनि फेरि रुन थालेँ। उहाँ मतिर हिँड्दै आउनुभयो र आफ्ना हातहरूले मलाई बाँध्नुभयो। उहाँले धेरै कुरा भन्न सक्नुहुन्थ्यो। तर उहाँले एक शब्द पनि बोल्नुभएन। उहाँ केवल मसँगै रुनुभयो।

अनि उहाँ उठ्नुभयो र फाइलहरू भएको भित्तातिर फेरि फर्कनुभयो। कोठाको एउटा कुनाबाट सुरु गर्नुभएर, उहाँले एउटा फाइल निकाल्नुभयो र, एक एक गरी, हरेक कार्डमा मेरो नामको माथि आफ्नो नामले हस्ताक्षर गर्न थाल्नुभयो।

“अहँ!” उहाँतिर कुद्दै म चिच्याएँ। जसै मैले उहाँको हातबाट त्यो कार्ड तानेँ, मैले भन्न सकेको कुरा “अहँ, हुन्न” मात्र थियो। ती कार्डहरूमा उहाँको नाम हुनुहुँदैन। तर त्यहाँ राखिसकिएको थियो, रातोमा यति चहकिलो, यति गाढा, यति सजीव हुने गरी लेखिएको थियो। येशूको नामले मेरो नाम ढाक्यो। यो उहाँको रगतले लेखिएको थियो।

उहाँले सुस्तरी त्यो कार्ड फिर्ता लिनुभयो। उहाँले एक दुःखी मुस्कान दिनुभयो र ती कार्डहरूमा हस्ताक्षर जारी राख्नुभयो। उहाँले यो यति छिटो कसरी गर्नुभयो भनी म कहिल्यै बुझ्न सक्छु जस्तो त मलाई लाग्दैन, तर लगत्तै यस्तो भान भयो कि उहाँले अन्तिम फाइल बन्द गर्नुभएको मैले सुनेँ, र उहाँ मेरो छेउमा फर्कनुभयो। उहाँले आफ्नो हात मेरो काँधमाथि राख्नुभयो र भन्नुभयो, “अब सिद्धियो।”

म खडा रहेँ, र उहाँले मलाई कोठाबाट बाहिर ल्याउनुभयो। यसको ढोकामा कुनै चुकुल थिएन। अझै कार्डहरू लेखिनु थियो।

<><><><>

तपाईंको जीवनलाई परमेश्वरले कसरी हेर्नुहुन्छ भनेर तपाईं कहिल्यै छक्क पर्नुभएको छ? येशूले हामीलाई भन्नुहुन्छ, “हरेक व्‍यर्थको कुरा जो मानिसहरू बोल्‍दछन्‌, न्‍यायको दिनमा तिनीहरूले त्‍यसको लेखा दिनुपर्नेछ” (मत्ती १२:३६)। यदि हामी आफैँसँग इमानदार छौं भने, हामीले दुःख र ग्लानिका साथ स्वीकार गर्नुपर्छ कि हामी हाम्रो विचारहरू र कामहरूमा चुकेका छौं। हामी पनि हामीले गुप्तमा राखेका विचारहरू र गरेका कामहरूको निम्ति लाजले रातो-पिरो हुनुपर्नेछ। बाइबलले रोमी २:१६ मा भन्छ कि “परमेश्‍वरले ... येशू ख्रीष्‍टद्वारा मानिसहरूका गुप्‍त कुराको इन्‍साफ गर्नुहुनेछ।” येशूका चेला, प्रेरित पत्रुसले प्रचार गरे, “यसकारण पश्‍चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्‌, कि तपाईंहरूका पाप मेटिऊन्‌, र परमप्रभुको उपस्‍थितिबाट आनन्‍दको समय आओस्‌” (प्रेरित ३:१९)। के येशूले तपाईंका पापहरू मेटिदिनुभएको छ? कि तिनले आज पनि तपाईंलाई अझै तर्साउँछन्‌?

के तपाईं स्वतन्त्र हुन चाहनुहुन्छ? के विगतका सोचहरू र कार्यहरूले तपाईंलाई थिच्दैछन्‌? हाम्रा पापहरू हाम्रा हृदय र जीवनमाथि गह्रौँ भारहरू हुन्‌। “यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन” (१ यूहन्ना १:८)। “किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो” (रोमी ६:२३)।

येशूले क्षमा प्रदान गर्नुहुन्छ। उहाँ पृथ्वीमा आउनुभयो र सबै पापीहरूको निम्ति उहाँले आफ्नो रगत बगाउनुभयो। मुक्तिको योजना अब पूर्ण भएको छ। के तपाईं पनि परिपूर्ण बन्न चाहनुहुन्छ? “यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ” (यूहन्ना ८:३६)। (भजनसङ्ग्रह ५१) अहिले नै येशूकहाँ आउनुहोस्‌! आफ्ना पापको पश्चात्ताप र स्वीकार गर्नुहोस्‌। “यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ” (१ यूहन्ना १:९)। येशूसँगै सन्तुष्ट जीवन जिउनलाई उहाँले तपाईंलाई डोर्याउन उहाँमाथि भरोसा गर्नुहोस्‌। उहाँले नै तपाईंलाई जीवनको दैनिक यात्राको निम्ति अगुवाइ गर्नुहुनेछ।

द रुम – सर्वाधिकार १९९५  न्यू एटिच्युडस्‌/जोसुवा ह्यारिस