त्यो कोठा

पवित्र धर्मशास्त्र बाइबलमा हामी पढ्छौं, “मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍ने उभिरहेका देखें, र पुस्‍तकहरू खोलिए। अर्को एउटा पुस्‍तक पनि खोलियो, जो जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो” (प्रकाश २०:१२)। परमेश्वरले अभिलेख राख्नुहुन्छ भन्ने कुराको यो प्रमाण हो।

संयुक्त राज्य अमेरिका, मेरील्यान्डका एक युवा मानिस जोसुवा ह्यारिसले प्युर्टो रिकोमा केही समय बिताउँदै थिए। एक रात उनले एउटा सपना देखे। परमेश्वरले उनलाई यो सपना विश्वासयोग्यताको कमीको निम्ति हप्की झैँ गरी दिनुभएको थियो भन्ने उनलाई लाग्यो। यो सपनाले उनलाई येशू ख्रीष्टको र उहाँको रगतको जीवन-रूपान्तरण गर्ने शक्तिको सम्झना दिलायो। यो हामी तपाईंलाई बताउन चाहन्छौं।

<><><><>

(त्यो कोठा)

सचेतन र सपनाहरूको बीचमा भएको त्यो ठाउँमा, मैले आफैँलाई त्यस कोठामा पाएँ। त्यहाँ खासै महत्त्वपूर्ण विशेषताहरू सञ्चय गरिएको थिएन, केवल एउटा भित्ता साना - साना सूचक-कार्डका फाइलहरूले भरिएको थियो। ती पुस्तकालयहरूमा हुने जस्तै खालका थिए, जसमा वर्णानुक्रमअनुसार लेखक वा विषयको शीर्षकको सूची राखिन्छ। तर भुइँदेखि भित्री छतसम्मै थाक लागेको र हरेक दिशामा नटुङ्गिने जस्ता देखिने यी फाइलहरूमा अति फरक शीर्षकहरू थिए। फाइलहरू भएको भित्ताको नजिक जसै म गएँ, मेरो ध्यान आकर्षण गर्ने पहिलो फाइलमा “मैले चाहेका केटीहरू” लेखिएको थियो। मैले यो खोलेँ र त्यहाँ राखिएका कार्डहरू पल्टाउन थालेँ। मैले झट्टै यो बन्द गरेँ, हरेक कार्डमा लेखिएका नामहरूलाई मैले पहिचान गर्न सकेकोमा म झस्किएँ।

अनि कसैले केही नभनिकनै म खासमा कहाँ छु भन्ने कुरा मैले चाल पाएँ। साना-साना फाइलहरू सहितका यो अजीव कोठा मेरो जीवनसँग सम्बन्धित घटनाहरूको एउटा कोरा सूची-फिरिस्त प्रणाली नै रहेछ। मेरो हरेक पलका कार्यहरू यहाँ लेखिएका रहेछन्‌, ठूला र साना, यति विस्तारित कि मेरो सम्झनाले ठम्याउन पनि सकेन।

एक किसिमको आश्चर्य र कौतूहलताको भावसँगै त्रास पनि मभित्र उब्जियो जसै मैले यताउताबाट फाइलहरू खोल्न र त्यसमा भएका विवरणहरू केलाउन थालेँ। कुनै कुनैले आनन्द र मीठो सम्झना ल्याए भने अरूहरूले लाज र ग्लानि भाव यति बिघ्न ल्याए कि कसैले मलाई हेर्दै छ की भनी मैले मेरो कुममाथिबाट पछाडि फर्कँदै हेरेँ। “साथीहरू” नामक फाइल “मैले धोका दिएका साथीहरू” भनी लेखिएको फाइलसँगै थियो।

शीर्षकहरू सामान्यदेखि अति अनौठोसम्मका थिए। “मैले पढेका पुस्तकहरू,” “मैले बोलेका झूटहरू,” “मैले प्रदान गरेका सान्त्वनाहरू,” “म खुब हाँसेका चुड्किलाहरू।” कुनै-कुनै त बिलकुलै हाँसोउठ्दा थिए: “मेरो भाइहरूलाई मैले चिच्याएर कराएका कुराहरू।” अरू कुनैमा भने म हाँस्न नसकेको: “मनमनै मैले मेरा आमा-बुवालाई सरापेका कुराहरू।” ती विवरणहरूद्वारा म चकित हुन कहिल्यै थामिएको छैन। प्रायजसो फाइलहरूमा मैले अपेक्षा गरेभन्दा अझ बढी कार्डहरू हुन्थे। कुनै कुनैमा भने मैले आशा गरेभन्दा कम कार्डहरू हुन्थे।

मैले जिएको जीवनको पूरा मात्रा देखेर म व्याकुल थिएँ। मेरो २० वर्षे जीवनमा यी हजारौं, सम्भवतः दसौँ लाख, कार्डहरू लेख्ने समय मसँग हुन सक्थ्यो होला त? तर हरेक कार्डले यो सत्यतालाई सुनिश्चित गर्थ्यो। हरेक मेरो आफ्नै हस्तलेखनमा थियो। हरेकमा मेरो आफ्नै हस्ताक्षर थियो।

जब मैले “मैले सुनेका गीतहरू” तानेँ, मैले चाल पाएँ कि तिनको विवरण समावेश गर्ने फाइल त ठूलै रहेछ। त्यसभित्र कार्डहरू अति खँदिलो प्रकारले रहेका थिए, तापनि अर्को दुई वा तीन हातसम्ममा पनि यस फाइलको पुछार मैले भेटेको थिइनँ। मैले यसलाई बन्द गरेँ, साह्रै लज्जा बोध भयो, सङ्गीतको गुणस्तरको कारणले होइन, तर गीत सुन्नलाई त्यस फाइलले प्रतिनिधित्व गरेको अत्याधिक मात्राको समयको कारणले गर्दा।

जब म “लालसापूर्ण विचारहरू” लेखिएको फाइलमा आएँ, मेरो सारा शरीर सिरिङ्ङ भएर चिसो भयो। मैले केवल एक इन्च जति मात्र फाइललाई तानेँ, यसको आकार परीक्षण गर्ने इच्छाले त होइन, अनि एउटा कार्ड थुतेँ। यसमा भएको विस्तारित विवरण देखेर मेरो आङ सिरिङ्ङ भयो। यस्तो पल पनि अभिलेख गरिएको रहेछ भन्ने कुरा सोचेर म वाक्क भएँ।

अचानक मैले पाशविक आक्रोश जस्तो अनुभव गरेँ। एउटा विचारले मेरो मनलाई कब्जा गर्यो: “यी कार्डहरू अरू कसैले कहिल्यै देख्नुहुन्न! मैले यी सब नष्ट गर्नुपर्छ!” बौलट्टीपनको सनकमा मैले त्यो फाइल बाहिर तानेँ। अब यसको आकारको खासै मलाई मतलब भएन। मैले त्यो फाइल रित्त्याएर ती कार्डहरूलाई जलाउनु थियो। तर जसै मैले यो फाइललाई एउटा कुनाबाट तानेर भुइँमा बजारेँ, मैले एउटै कार्ड पनि भताभुङ्ग पार्न सकिनँ। म व्यग्र भएँ र एउटा कार्ड तानेँ, तब चाल पाएँ कि मैले च्यात्न खोजेको यो कार्ड त फलामको पाता जत्तिकै बलियो थियो।

पराजित र पूर्ण विवश भएर, मैले त्यो फाइललाई त्यसको यथास्थानमा फर्काएर राखेँ। भित्तातिर मेरो निधार टेकाएर मैले एउटा लामो, आफैँलाई सहानुभूति प्रकट गर्ने सुस्केरा हालेँ। अनि मैले यो देखेँ। त्यसको शीर्षक “मैले सुसमाचार सुनाएका मानिसहरू” भन्ने थियो। यसको समात्ने ठाउँ यसको वरिपरि भएका अन्य फाइलहरूको भन्दा ठूलो थियो, अलि नयाँ, अनि प्रायः प्रयोग नगरिएको खालको थियो। मैले यसको समात्ने ठाउँबाट तानेँ र तीन इन्च जति लामो परेको सानो बाकस मेरो हातमा झर्यो। एउटा हातमा राखेर यस बाकसमा भएको कार्डहरू मैले गन्न सक्थें।

अनि त आँसु झर्यो। म रुन थालेँ। यति बेसरी सुकसुकाएँ कि पीडा बोध भयो, पेटमा सुरु भएर पुरै शरीरलाई कम्पन गर्यो। मैले मेरो घुँडा टेकेँ र खुब रोएँ। लाजको कारणले म रोएँ, यो सबै कुराहरूको लज्जाबोध भएकोले रोएँ। आँसुले भरिएका मेरा आखाँहरूमा ती फाइलका पङ्कति भएका तख्ताहरू घुम्न थाले। यो कोठाको बारेमा कसैले पनि कहिल्यै थाहा पाउनुहुन्न। मैले यो कोठामा ताला लगाएर साँचो लुकाउनुपर्छ।

तर जसै मैले आँसु पुछेँ, मैले उहाँलाई देखेँ। अहँ, दया गरी उहाँ नहुनुभएको होस्‌। यहाँ उहाँ नहुनुभएको होस्‌। अहो, अरू जो सुकै आए पनि येशू नआउनुभएको होस्‌।

उहाँले फाइलहरू खोलेर कार्डहरू पढ्न सुरु गर्नुहुँदा मैले विवश भएर नियालेँ। उहाँको प्रत्युत्तर नियाल्न मलाई साह्रै गाह्रो भयो। अनि ती पलहरूमा मैले उहाँको मुहार हेर्न आफैँलाई सक्ने तुल्याउँदा, मैले मेरो आफ्नै भन्दा गहिरो शोक उहाँमा देखेँ। उहाँ जानाजान सबैभन्दा खराब बाकसहरूतिर जानुभएको भान हुन्थ्यो। हरेक थोक किन उहाँलाई पढ्नु परेको थियो?

अन्ततः उहाँ फर्कनुभयो र कोठाको त्यस ठाउँबाट मलाई हेर्नुभयो। उहाँले मलाई आफ्नो आँखामा दया देखाएर हेर्नुभयो। तर यो यस्तो दया थियो जसको निम्ति मलाई रिस उठेन। मैले मेरो टाउको निहुराएँ, मेरा हातहरूले आफ्ना मुहार छोपेँ, अनि फेरि रुन थालेँ। उहाँ मतिर हिँड्दै आउनुभयो र आफ्ना हातहरूले मलाई बाँध्नुभयो। उहाँले धेरै कुरा भन्न सक्नुहुन्थ्यो। तर उहाँले एक शब्द पनि बोल्नुभएन। उहाँ केवल मसँगै रुनुभयो।

अनि उहाँ उठ्नुभयो र फाइलहरू भएको भित्तातिर फेरि फर्कनुभयो। कोठाको एउटा कुनाबाट सुरु गर्नुभएर, उहाँले एउटा फाइल निकाल्नुभयो र, एक एक गरी, हरेक कार्डमा मेरो नामको माथि आफ्नो नामले हस्ताक्षर गर्न थाल्नुभयो।

“अहँ!” उहाँतिर कुद्दै म चिच्याएँ। जसै मैले उहाँको हातबाट त्यो कार्ड तानेँ, मैले भन्न सकेको कुरा “अहँ, हुन्न” मात्र थियो। ती कार्डहरूमा उहाँको नाम हुनुहुँदैन। तर त्यहाँ राखिसकिएको थियो, रातोमा यति चहकिलो, यति गाढा, यति सजीव हुने गरी लेखिएको थियो। येशूको नामले मेरो नाम ढाक्यो। यो उहाँको रगतले लेखिएको थियो।

उहाँले सुस्तरी त्यो कार्ड फिर्ता लिनुभयो। उहाँले एक दुःखी मुस्कान दिनुभयो र ती कार्डहरूमा हस्ताक्षर जारी राख्नुभयो। उहाँले यो यति छिटो कसरी गर्नुभयो भनी म कहिल्यै बुझ्न सक्छु जस्तो त मलाई लाग्दैन, तर लगत्तै यस्तो भान भयो कि उहाँले अन्तिम फाइल बन्द गर्नुभएको मैले सुनेँ, र उहाँ मेरो छेउमा फर्कनुभयो। उहाँले आफ्नो हात मेरो काँधमाथि राख्नुभयो र भन्नुभयो, “अब सिद्धियो।”

म खडा रहेँ, र उहाँले मलाई कोठाबाट बाहिर ल्याउनुभयो। यसको ढोकामा कुनै चुकुल थिएन। अझै कार्डहरू लेखिनु थियो।

<><><><>

तपाईंको जीवनलाई परमेश्वरले कसरी हेर्नुहुन्छ भनेर तपाईं कहिल्यै छक्क पर्नुभएको छ? येशूले हामीलाई भन्नुहुन्छ, “हरेक व्‍यर्थको कुरा जो मानिसहरू बोल्‍दछन्‌, न्‍यायको दिनमा तिनीहरूले त्‍यसको लेखा दिनुपर्नेछ” (मत्ती १२:३६)। यदि हामी आफैँसँग इमानदार छौं भने, हामीले दुःख र ग्लानिका साथ स्वीकार गर्नुपर्छ कि हामी हाम्रो विचारहरू र कामहरूमा चुकेका छौं। हामी पनि हामीले गुप्तमा राखेका विचारहरू र गरेका कामहरूको निम्ति लाजले रातो-पिरो हुनुपर्नेछ। बाइबलले रोमी २:१६ मा भन्छ कि “परमेश्‍वरले ... येशू ख्रीष्‍टद्वारा मानिसहरूका गुप्‍त कुराको इन्‍साफ गर्नुहुनेछ।” येशूका चेला, प्रेरित पत्रुसले प्रचार गरे, “यसकारण पश्‍चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्‌, कि तपाईंहरूका पाप मेटिऊन्‌, र परमप्रभुको उपस्‍थितिबाट आनन्‍दको समय आओस्‌” (प्रेरित ३:१९)। के येशूले तपाईंका पापहरू मेटिदिनुभएको छ? कि तिनले आज पनि तपाईंलाई अझै तर्साउँछन्‌?

के तपाईं स्वतन्त्र हुन चाहनुहुन्छ? के विगतका सोचहरू र कार्यहरूले तपाईंलाई थिच्दैछन्‌? हाम्रा पापहरू हाम्रा हृदय र जीवनमाथि गह्रौँ भारहरू हुन्‌। “यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन” (१ यूहन्ना १:८)। “किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो” (रोमी ६:२३)।

येशूले क्षमा प्रदान गर्नुहुन्छ। उहाँ पृथ्वीमा आउनुभयो र सबै पापीहरूको निम्ति उहाँले आफ्नो रगत बगाउनुभयो। मुक्तिको योजना अब पूर्ण भएको छ। के तपाईं पनि परिपूर्ण बन्न चाहनुहुन्छ? “यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ” (यूहन्ना ८:३६)। (भजनसङ्ग्रह ५१) अहिले नै येशूकहाँ आउनुहोस्‌! आफ्ना पापको पश्चात्ताप र स्वीकार गर्नुहोस्‌। “यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ” (१ यूहन्ना १:९)। येशूसँगै सन्तुष्ट जीवन जिउनलाई उहाँले तपाईंलाई डोर्याउन उहाँमाथि भरोसा गर्नुहोस्‌। उहाँले नै तपाईंलाई जीवनको दैनिक यात्राको निम्ति अगुवाइ गर्नुहुनेछ।

द रुम – सर्वाधिकार १९९५  न्यू एटिच्युडस्‌/जोसुवा ह्यारिस

अशान्त संसारमा मनको शान्ति

Peace

“शान्ति—हाम्रो राष्ट्र, परिवार र मुख्य गरी हाम्रो हृदय र मनको निम्ति—कहाँ छ शान्ति?” यो दर्दनाक चीत्कार युगौँदेखि सुनिँदै आएको छ। के तपाईंको हृदयको पनि चीत्कार यही हो?

मानिसहरू थकित र चिन्तित छन्‌। निःसन्देह नै हामीलाई अगुवाइ र परामर्श, सुरक्षा र निश्चयताको आवश्यकता छ। हामीलाई मनको शान्तिको आवश्यकता छ, हामीलाई यो चाहिएको छ।

मनको शान्ति—कति गजबको सम्पत्ति! के यस्तो सम्पत्ति यति बिघ्न द्वन्द्व र चिन्ता, भद्रगोल र दुःखले भरिएको संसारमा पाउन सकिन्छ होला?

चरम खोजी जारी छ! धेरै मानिसहरूले शान्तिलाई सम्मान र समृद्धिमा, सुख-सयल र शक्तिमा, शिक्षा र ज्ञानमा, मानवीय सम्बन्धहरू र विवाहमा खोजिरहेका छन्‌। उनीहरूले आफ्नो टाउको ज्ञानले र आफ्नो थैलो धनले भर्ने इच्छा राख्छन्‌, तर उनीहरूको आत्मा भने रित्तो रहन्छ। कोही भने लागू-औषध वा मदिरा सेवन गरेर जीवनको यथार्थहरूबाट भाग्न खोज्दै गरेका हुन्छन्‌, तर उनीहरूले खोजेको शान्तिले उनीहरूलाई छल गर्छ। उनीहरू अझै पनि रित्तो र एक्लो नै हुन्छन्‌, दुःखित संसारमा अझै पनि दुःखित मन लिएर रहेका हुन्छन्‌।

भद्रगोल स्थितिमा मानिस

परमेश्वरले मानिसलाई सृजनुभयो र उसलाई एउटा सुन्दर बगैँचामा सिद्ध शान्ति, आनन्द र खुसी अनुभव गर्न राख्नुभयो। तर जब आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरे, तत्कालै उनीहरू दोषको भावले आक्रान्त भए। पहिले उनीहरूले परमेश्वरको उपस्थितिको चाहना गर्थे भने अहिले उनीहरू आफैँ लाजले लुके। उनीहरूले अनुभव गरेको त्यस शान्ति र आनन्दलाई अब दोष र डरले प्रतिस्थापन गर्यो। अशान्त संसार—अनि अशान्त मनको सुरुवात मानिसको पापबाट नै भएको थियो।

हाम्रो आत्माले परमेश्वरको चाह गर्ने भएतापनि हाम्रो पापमय स्वभावले उहाँको चालहरूको विरुद्धमा विद्रोह गर्छ। यो भित्री द्वन्द्वले तनाव र चिन्ता उत्पन्न गर्छ। जब हामी पनि आदम र हव्वा जस्तै हाम्रै इच्छा र अभिलाषामा आफू-केन्द्रित हुन्छौं, तब हामी पनि विचलित र व्याकुल बन्छौं। हामीले जति धेरै आफूमाथि जोड दिन्छौं, हामी त्यति नै धेरै दुःखित बन्छौं। जीवनका अनिश्चितताहरू र परिवर्तित, क्षय हुँदै गरेको संसारले हाम्रो सुरक्षालाई हल्लाउँछ र हाम्रो शान्तिलाई बिथोल्छ।

तपाईंले यसलाई पहिचान वा स्वीकार नगर्नुभएको हुन सक्छ, तर तपाईंभित्र भएको बेचैनीको कारण पाप हुन सक्छ। धेरै मानिसहरूले शान्ति पाउन बाहिरी र भौतिक कुराहरूमाझ खोजी गर्छन्‌। उनीहरूको मन अशान्त हुनमा उनीहरूले अशान्त संसारलाई दोष दिन्छन्‌। तर उनीहरूले आफ्नै हृदयभित्र हेर्न भने छुटाउँछन्‌।

येशू ख्रीष्ट, शान्तिका राजकुमार

हामीलाई बनाउनुहुने र हामीलाई बुझ्नुहुने परमेश्वरसँग हाम्रा जीवनका सबै पक्षहरूलाई एकतामा नल्याएसम्म साँचो शान्ति हुन सक्दैन। ख्रीष्टप्रति पूर्ण समर्पित हुँदा मात्र यो सम्भव हुन्छ। उहाँ यस संसारको मालिक मात्र हुनुहुन्न, तर उहाँले हाम्रो जीवनलाई सुरुदेखि अन्तिमसम्मै बुझ्नु पनि हुन्छ। “अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति दिन, र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याउन” (लूका १:७९) उहाँ यस संसारमा आउनुभयो र यसरी उहाँले हाम्रो बारेमा सोच्दै हुनुहुन्थ्यो।

 येशूले अन्धकारको निम्ति ज्योति, कलहको निम्ति शान्ति, शोकको निम्ति आनन्द, निराशाको निम्ति आशा, र मृत्युको निम्ति जीवन प्रदान गर्नुहुन्छ। उहाँले यूहन्ना १४:२७ मा भन्नुहुन्छ, “शान्ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। ... तिमीहरूको हृदय व्याकुल नहोस्‌ र भयभीत नहोस्‌।”

पश्चात्तापले मनको शान्ति ल्याउँछ

जब तपाईं पापको गह्रौँ भारीले थिचिएको महसुस गर्नुहुन्छ, तब तपाईंको लागि उपाय यो हो: “पश्चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्‌, कि तपाईंहरूका पाप मेटिऊन्‌” (प्रेरित ३:१९)। येशूले तपाईंलाई सबैभन्दा अर्थपूर्ण, जीवन परिवर्तनको अनुभव गर्नको लागि निम्तो दिनुहुन्छ। येशूले भन्नुभयो, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। पहिलो यूहन्नाको पुस्तक १ अध्यायको ९ पदले प्रतिज्ञा गर्छ, “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्छ।” के तपाईं उहाँको निम्तोलाई स्वीकार गर्नुहुन्छ?

जब तपाईं येशूकहाँ आउनुहुन्छ, तपाईंले क्षमा र स्वतन्त्रता पाउनुहुनेछ। रिस र अक्षमाको साटोमा तपाईंको हृदय प्रेम र कृपाले भरिन्छ। येशूलाई तपाईंको हृदयमा राज गर्न दिएर तपाईंले शत्रुहरूलाई पनि प्रेम गर्नुहुनेछ। यो ख्रीष्टको छुटकारा गर्ने रगतको शक्तिद्वारा सम्भव हुन्छ।

रहिरहने शान्ति

ख्रीष्टियानको रूपमा, परमेश्वरमा विश्वास गर्नु र उहाँको वास्तामा भरोसा गर्नु भनेको डर र चिन्ताको उपचार गर्नु हो। अनन्तदेखि अनन्तसम्म नबदलिनुहुने परमेश्वरमा भरोसा गर्नुमा कति आराम छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई सदैव वास्ता गर्नुहुनेछ। त्यसैले, किन चिन्ता गर्ने र व्याकुल हुने? पहिलो पत्रुस ५ अध्यायको ७ पदमा लेखे जस्तै अभ्यास गर्न सिक्नुहोस्‌, “तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।”  हामीलाई यस्तो प्रतिज्ञा पनि दिइएको छ, “जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ” (यशैया २६:३)।

येशू ख्रीष्ट तपाईंको हृदयमा हुनुहुन्छ भने शान्तिको निम्ति तपाईंको खोजी पूरा भएको छ। उहाँले तपाईंलाई शान्ति र अमन चैन दिनुहुनेछ, जुन उहाँमाथि भरोसा गरेर मात्र आउँछ। तपाईंले पनि कविसँगै यसरी भन्न सक्नुहुनेछ:

जहाँ छैन शान्ति त्यहाँ शान्ति पाएँ
जहाँ चल्छ हुरी त्यहाँ अमन चैन  
गुप्त ठाउँ जहाँ म आमनेसामने भएँ
मेरो मालिकसँग दुःखमा छु म भन्ने छैन

-राल्फ स्पाल्डिङ कुशम्यान

अशान्त संसारमा तपाईंले मनको शान्ति पाउनुहुनेछ! आफ्नो हृदयको ढोका ख्रीष्टको निम्ति खोल्नुहोस्‌—अहिले नै—अनि कुनै बेला तपाईंको लागि उहाँले स्वर्गको ढोका खोल्नुहुनेछ, जहाँ सिद्ध शान्तिले सदासर्वदा राज्य गर्नेछ।

लागु-औषध, मादक-पदार्थ, र अनैतिकताको सम्बन्धमा के हो त?

मादक-पदार्थ  लागु-औषध  अभिलाषा  अपराध  कारागार  निराशा  मृत्यु

"किनकि पापको ज्याला मृत्यु हो" (रोमी ६:२३)

तथ्यहरूको सामना गरौं। लागु-औषध, मादक-पदार्थ, र अनैतिकता जस्ता ती भयानक राक्षसहरूले परमेश्वरले बनाउनुभएको सौम्य र असल कुराहरूलाई सङ्कटमा पार्दैछन्‌ र विनाश गर्दैछन्‌। सिकारीले आफ्नो पासोमा सिकार पारे जस्तै, यिनले जवान र वृद्ध दुवैलाई आफ्नो पासोमा पार्दैछन्‌।

आजको समाजमा ठूलै बज्रपात परेको छ। लागु-औषध, मादक-पदार्थ, र अनैतिकताको अभिशापले धेरै मानिसहरूलाई, अनन्तको विनाशतिर अघि बढाउँदै, तर्काएको छ र लङ्गर विहीन बनाएको छ। यी दुर्व्यसनको सवालमा मानिसहरू सजिलै आफ्ना सङ्गीहरूको साथसाथै सञ्चार-माध्यमहरू, पत्र-पत्रिकाहरू, र टेलिभिजनका विज्ञापनहरूद्वारा प्रभावित हुन्छन्‌। मानिसको मन-मस्तिष्कलाई यति हदसम्म आक्रमण गरिएको छ कि उनीहरू अन्योल र निराशाको भुमरीमा पुगेका छन्‌, परिणामस्वरूप आत्मिक र शारीरिक विकृतितिर उन्मुख भएका छन्‌।

यस्तो किसिमको निकृष्ट नैतिक व्यवहारको निम्ति कसलाई दोष दिने? युवा पुस्तालाई? पक्कै होइन। धेरैजसो बुवाआमाहरूको आफ्नै अनैतिक जियाइको कारणले गर्दा उनीहरूले युवा पुस्तालाई यस्तो किसिमको पाप कर्ममा फस्न मान्यता दिएका हुन्‌। आमा बुवाहरूले आफ्ना भ्रष्ट संवेदनाहरूलाई जाँच गर्न चुकेका हुनाले आफ्ना बच्चाहरूलाई पियक्कडको र लागु-औषध दुर्व्यसनको विनाशको परिचय दिँदैछन्‌ भन्ने कुरामा उनीहरू सचेत छैनन्‌। परमेश्वरको नैतिक सिद्धान्तहरूलाई बेवास्ता गरेर तिनलाई लत्त्याइएका छन्‌। एउटा चर्को चीत्कार स्वर्गसम्मै पुग्नुपर्छ। हामीले कसरी हामी आफैँलाई र हाम्रा बच्चाहरूलाई बचाउन सक्छौं?

हाम्रो समाजले नागरिकहरूको आवश्यक गुणस्तर त्यो बेलासम्म उत्पन्न गर्न सक्दैन जबसम्म मादक-पदार्थ र लागु-औषधलाई सहन गरिन्छ, अनि बुवाआमाहरू, शिक्षक-शिक्षिकाहरू, र प्राध्यापकहरूको लचकताद्वारा त्यसलाई उत्साहित गरिन्छ। मादक-पदार्थको सेवन जन-नैतिकताको ठूलो भक्षक हो; यसले निर्णय-शक्ति, चरित्र, र जीवनलाई ध्वस्त पार्छ। यसले घर-परिवार भाँड्न र विभाजन गर्न योगदान पुर्याउँछ, जुन परिवार मानव जातिको आशिषको निम्ति परमेश्वरको पवित्र एकाइ हो। 

मादक-पदार्थको घातमाथिको अर्को घात भनेको बढ्दो अवैध लागु-औषधको प्रयोग हो। यी लागु-औषधहरूको खराब प्रभावहरू यसका कुनै पनि कथित लाभहरूको तुलनामा ज्यादै प्रबल छन्‌। लागु-औषधहरूको प्रयोगले कमजोर निर्णय-शक्ति र मानसिक मतिभ्रमलाई प्रश्रय दिन्छ। लागु-औषध दुर्व्यसनीहरूले स्वीकार गर्छन्‌ कि यसको लत भनेको मानसिक, शारीरिक, र आत्मिक रूपमा हुने मृत्यु यात्रा हो। निको पार्न नसकिने मस्तिष्क घात, हत्या, र आत्महत्या जस्ता कुराहरू प्रायः यी दुर्व्यसनका दुःखद परिणामहरू हुन्‌।

मानिसहरूको जन्मजात पापको कारणले गर्दा, उनीहरूले स्वाभाविक रूपमा नै शैतानले रचेको प्रवृत्तिहरू र उत्कण्ठाहरूलाई अनुसरण गर्छन्‌। यस अवस्थामा शरीरले अप्रतिबन्धित सन्तुष्टि खोज्छ। यौन अनैतिकताले अभिलाषाको आगोलाई निभाउँदैन—यसले त अझ घ्यू थप्छ। जसरी मादक-पदार्थको समस्याको निम्ति समाधान ह्विस्की हुन सक्दैन त्यसरी नै अभिलाषाको निम्ति उपचार यौन क्रियाकलाप हुन सक्दैन। सत्यता यही हो कि हामीले हाम्रो अभिलाषासँग सामना गर्नुपर्छ। जब अनन्तसम्म रहने हाम्रो आत्माले परमेश्वरको उद्धार प्राप्त गर्छ, तब यसले उहाँको व्यवस्थाहरूलाई सम्मान गर्न खोज्छ।

व्यभिचार, पर-स्त्रीगमन, समलिङ्गी सम्बन्ध, र जनावरहरूसँग राख्ने यौन सम्पर्क परमेश्वरको वचनमा प्रतिबन्धित गरिएका छन्‌ (लेवी १८:२३; गलाती ५:१९-२१)। अनैतिकताले पीडा, मर्मभेद, बिजोग, दोष, र यौन सम्पर्कबाट सर्ने रोगहरू ल्याउँछ। शुद्धताले स्वाभिमान र प्रतिष्ठाको भाव ल्याउँछ। उच्च सैद्धान्तिक व्यक्ति दयनीय रूपमा जिउँछ र निम्न नैतिकता भएको व्यक्ति आनन्द र सन्तुष्टिको जीवन जिउँछ भनेर सोच्नु ठूलो भुल हो।

अनैतिकताको यो अन्योलग्रस्त परिस्थिति र आत्मिक अन्धोपन, पाप र निर्लज्ज भक्तिहिनताको माझमा पवित्र बाइबलले नैतिक व्यवहारको निम्ति उच्च स्तर तोकेको छ। सहि र गलतको विषयमा बाइबल नै निर्णायक र अनन्त अधिकार हो।

मानव जातिको वृद्धि भएको होस्‌ र पति र पत्नी बीचको वैवाहिक बन्धन मजबुत भएको होस्‌ भनेर परमेश्वरले मानिसलाई यौनको चाह हुने गरी सृष्टि गर्नुभयो। उहाँले यो इच्छा आधिकारिक विवाहभित्र मात्र पूरा हुनको निम्ति मन्जुर गर्नुहुन्छ। “सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ” (हिब्रू १३:४)।

रोमीको पुस्तकमा, प्रेरित पावलले समलिङ्गी सम्बन्धमाथि परमेश्वरको इन्साफको बारेमा लेख्छन्‌। “यसैकारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे, र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नै शरीरमा आफ्ना कसूरको उचित दण्ड भोगे। यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो” (रोमी १:२६-२८)। सदोम र गमोराको घृणित कार्य यही थियो, र यो कार्यले गर्दा तिनीहरूमाथि परमेश्वरको इन्साफ ल्यायो (उत्पत्ति १९)। धर्मशास्त्रअनुसार, यदि हामी यस्ता पापहरूमा अभ्यस्त भएर बाँच्छौं भने पवित्र आत्मालाई हाम्रो हृदयमा प्रज्वलित राख्न असम्भव हुन्छ।

यदि तपाईं जीवनमा साँच्चै खुसी हुन चाहनुहुन्छ र आफैँसँग र परमेश्वरसँग शान्तिमा रहन चाहनुहुन्छ भने, तपाईं उहाँसँगको सङ्गतिमा आउनैपर्छ। तपाईं पापी हुनुहुन्छ भन्ने कुरा पहिचान र स्वीकार गर्नुहोस्‌ र तपाईंको दोष बोकेर येशू क्रूसमा मर्नुभयो भनी विश्वास गर्नुहोस्‌। विजयले तपाईंलाई पर्खँदैछ!

जसै तपाईंले आफ्नो हृदय परमेश्वरसँग खुल्ला गर्नुहुन्छ र आफ्नो पापहरू स्वीकार गर्नुहुन्छ, उहाँले तपाईंलाई क्षमा गर्नुहुन्छ। “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (१ यूहन्ना १:९)।

आफ्नो मुक्तिदाता येशूलाई आफ्नो समस्त जीवन स्वैच्छिक रूपमा सुम्पनुहोस्‌, र उहाँको वचन र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा अनुसरण गर्नुहोस्‌। परिवर्तित जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्‌, यिनै विचारहरूले हाम्रो कार्यहरू र क्रियाकलापहरूमा गजबको परिवर्तन ल्याउँछन्‌। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र तपाईंलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्टले तपाईंलाई दिनुहुनेछ। येशूले बोलाउँदै गर्नुहुँदा अहिले नै उहाँकहाँ आउनुहोस्‌। “जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट” (यशैया ५५:६)।