तपाईंको लागि जवाफ – तपाईंको डर र अशान्तिलाई प्रतिस्थापन गर्ने शान्

Jesus at the well

तपाईंको बारेमा सबै कुरा जान्ने कोही हुनुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ? परमेश्वरको पुत्र येशूले तपाईंले गर्नुभएका हरेक कुरा जान्नुहुन्छ। उहाँले नै यस संसार र यसमा भएका यावत्‌ थोक बनाउनुभयो। उहाँले विगत, वर्तमान र भविष्य जान्नुहुन्छ। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईंलाई पापबाट बचाउनको निम्ति यस संसारमा आउनुभयो। तपाईंको जीवनमा खुसी ल्याउनको निम्ति उहाँसँग एउटा योजना छ।

एक दिन येशू आफ्ना साथीहरूसँग यात्रा गर्दै हुनुहुन्थ्यो। उहाँ सामरियाको एउटा नगरमा आउनुभयो। येशूका साथीहरू खाना किन्नको निम्ति गएको बेलामा उहाँ आराम गर्न एउटा इनारको छेउमा बस्नुभयो।

येशू त्यहाँ बस्दै गर्नुहुँदा, एकजना स्त्री त्यस इनारमा पानी भर्न आइन्‌। येशूले तिनलाई सोध्नुभयो, “के मलाई पानी पिउन दिन सक्छ्यौ?”

पूरा लेख: तपाईंको लागि जवाफ – तपाईंको डर र अशान्तिलाई प्रतिस्थापन गर्ने शान्

त्यस स्त्री छक्क परिन्‌। तिनले सोधिन्‌, “म सामरी जातको हुँ र यहूदीहरूले हामीसँग कुनै सरोकार राख्दैनन्‌ भन्ने के तपाईं जान्नुहुन्न?”

येशूले तिनलाई नरम भएर जवाफ दिनुभयो, “यदि तिमीले साँच्चै परमेश्वरलाई र तिमी जोसँग कुरा गर्दै छ्यौ उसलाई जानेकी भए, तिमीले मसँग जिउँदो पानी माग्ने थियौ। मैले त्यो खुसीसाथ दिने थिएँ।”

त्यस स्त्रीले उहाँलाई छक्क परेर हेरिन्‌। तिनले भनिन्‌, “महाशय, इनार गहिरो छ। तपाईंसित उघाउने कुनै भाँडो पनि छैन। अनि तपाईंले कहाँबाट त्‍यो जिउँदो पानी उघाउनुहुन्छ?”

The woman running to town

येशूले फेरि जवाफ दिनुभयो, “यो पानी पिउनेहरू फेरि तिर्खाउनेछन्‌, तर यदि तिमीले मैले दिएको पानी पियौ भने तिमी कहिल्‍यै तिर्खाउनेछैनौ।”

त्यस स्त्रीले भनिन्‌, “महाशय, मलाई त्यही पानी दिनुहोस्‌, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन।” 

येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्‍याऊ।”

त्‍यस स्‍त्रीले भनिन्‌, “मेरो पति छैन।”

येशूले भन्नुभयो, “यो सत्य हो। तिम्रा पाँच जना पति भइसकेका छन्‌, र जो अहिले तिमीसँग छ, त्‍यो तिम्रो पति होइन।”

यो मानिसलाई मेरो बारेमा कसरी थाहा भएको हो भनी तिनी छक्क परेर भनिन्‌, “महाशय, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु। मेरो एउटा प्रश्न छ। हाम्रा मानिसहरूले यस डाँडामा आराधना गर्दै आएका छौं। अनि तपाईंहरू भन्नुहुन्छ, कि आराधना गर्ने स्थान यरूशलेम हो।”

येशूले तिनलाई भन्नुभयो, “हामीले कहाँ आराधना गर्ने भन्ने कुरा त्यत्ति महत्त्वपूर्ण होइन। आज
साँचो विश्वासीहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्न सक्छन्‌।”

त्यस स्त्रीले उहाँलाई भनिन्‌, “म जान्दछु, कि मसीह आउनुहुन्छ, जसलाई ख्रीष्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।”

तब येशूले तिनलाई भन्नुभयो, “म उही हुँ।”

तिनी आफ्‍नो गाग्रो छोडेर नगरतिर गइन्‌।  तिनले कराउँदै भनिन्‌, “आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?” 

तब त्यस नगरका मानिसहरू निस्‍केर येशूलाई भेट्न गए। उहाँ नै ख्रीष्ट, मुक्तिदाता हुनुहुन्छ भनी धेरैले विश्वास गरे, किनकि उनीहरूको बारेमा उहाँलाई सबै कुरा थाहा थियो। यो वृत्तान्त तपाईंले बाइबलमा यूहन्नाको सुसमाचारको पुस्तक ४ अध्यायको ३ पददेखि ४२ पदसम्ममा (यूहन्ना ४:३-४२) पढ्न सक्नुहुन्छ।

Jesus teaching the crowd

येशूले हाम्रो बारेमा सबै असल कुराको सँगसँगै खराब कुरा पनि कुरा जान्नुहुन्छ। हामीले हाम्रो जीवनमा गरेका खराब कामहरू हामी लुकाउन चाहन्छौं, तर हामी ती येशूबाट लुकाउन सक्दैनौं। हामीले गल्ती गर्दा भोग्नुपर्ने दण्डबाट हामीलाई बचाउन उहाँ आउनुभएको हो। हामीले हाम्रो हृदयमा महसुस गर्ने त्यो गह्रौँ भावना हटाउन र हामीलाई शान्ति दिन उहाँ सक्षम हुनुहुन्छ। हाम्रो पापहरू मेटाउन र हाम्रो मृत्युपछि हामीले स्वर्गमा घर पाउने कुरा सम्भव तुल्याउन उहाँ मर्नुभयो।

तपाईंको सबै खाँचोहरू र सबै प्रश्नहरूको समाधान येशू हुनुहुन्छ। उहाँ तपाईंको साथी हुन चाहनुहुन्छ। उहाँले तपाईंको हृदयको रिक्ततालाई भर्न चाहनुहुन्छ। उहाँले तपाईंको डर र अशान्तिलाई शान्ति र सौम्यतामा परिणत गर्न सक्नुहुन्छ।

येशूले भन्नुहुन्छ, “मकहाँ आओ ... र म तिमीलाई विश्राम दिनेछु” (बाइबलमा मत्तीको पुस्तकको ११ अध्यायको २८ पद)। केवल उहाँसँग प्रार्थना गर्नुहोस्‌ र उहाँलाई तपाईंको जीवनमा आउनलाई अनुरोध गर्नुहोस्‌। जसै तपाईंले यी महान्‌ परमेश्वरलाई विश्वासमा ग्रहण गर्नुहुन्छ, उहाँ तपाईंको हृदयमा रहनुहुनेछ। उहाँको उपस्थितिले तपाईंलाई आनन्द दिनेछ। उहाँले तपाईंलाई जीवनमा शक्ति र उद्देश्य दिनुहुनेछ। उहाँ नै तपाईंको लागि समाधान हुनुहुनेछ।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌

तपाईं नयाँ गरी जन्मनुपर्छ

उद्धार पाउने एउटै उपाय भनेको नयाँ गरी जन्मनु हो भनी येशूले भन्नुभयो। यसको अर्थ के हो? नयाँ जन्म भनेको बप्तिस्मा लिनु, मण्डलीको सदस्य हुनु, प्रभु-भोजमा सहभागी हुनु, जीवन सुधार हुनु, प्रार्थना गर्नु, वा असल कार्यहरू गर्नु जस्ता कुनै पनि कुरा होइनन्‌। नयाँ जन्म भनेको हृदयको परिवर्तन हो। हाम्रो पापमय जीवनको निम्ति हामीले पश्चात्ताप गरेर परमेश्वरकहाँ फर्किँदा उहाँले हामीलाई नयाँ जन्म दिनुहुन्छ। हामी नयाँ जन्मको लागि कहिले तयार हुन्छौं भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। जब हामी नयाँ गरी जन्मिएका हुन्छौं तब हामीलाई सो थाहा हुन्छ। हामीसँग स्वतन्त्र विवेक, सही कुरा गर्ने इच्छा, र स्वर्गमा भएको घरको सुनिश्चयता हुन्छ।

हामी नयाँ गरी नजन्मेसम्म स्वर्गको ढोका हाम्रो निम्ति बन्द रहन्छ भनी येशूले हामीलाई भन्नुहुन्छ। त्यसैकारण, हामी सोध्छौं: मित्र, के तपाईं नयाँ गरी जन्मनुभयो? मण्डली सदस्य, के तपाईं नयाँ गरी जन्मनुभयो? यदि छैन भने, तपाईं हराउनुभएको छ। किनकी येशूले भन्नुहुन्छ, “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन” (यूहन्ना ३:३)

तपाईंले सोध्नुहोला, “नयाँ गरी जन्मनु भनेको के हो?” नयाँ जन्मको बारेमा आज थुप्रै गलत-धारणाहरू छन्‌। यो बप्तिस्मा होइन, किनकी कोही कोही बप्तिस्मा भएका थिए तापनि नयाँ गरी जन्मेका थिएनन्‌ (प्रेरित ८:१८-२५)। यो मण्डलीमा आबद्ध हुने कुरा होइन, किनकी कोही कोही चेवा गर्न घुसेका थिए (गलाती २:४)। यो प्रभुभोजको टेबुलबाट खाने पनि होइन, किनकी कोही कोहीले अयोग्य प्रकारले खाए र उचित दण्ड भोगे (१ कोरिन्थी ११:२९)। यो सुध्रने वा राम्ररी जिउने कुरा होइन, “किनकि, म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्‌, तर सक्नेछैनन्‌” (लूका १३:२४)। यो प्रार्थना गर्ने कुरा होइन, किनकी येशूले भन्नुहुन्छ, “यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढा छ” (मत्ती १५:८)।

कोही कोहीले भन्न सक्छन्‌ यदि मैले कोसिस गरेँ र मैले सकेसम्म राम्रो गरेँ, गरिबहरूलाई दिएँ, बिरामीहरूलाई भेट्न गएँ, र हरेक दिन सकेसम्म असल गरेँ भने, पक्कै पनि म नयाँ गरी जन्मन्छु (मत्ती २५:४१-४५)। होइन, हामी जो होइनौं त्यो हुन सक्दैनौं: “किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वर प्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ” (रोमी ८:७)। हामीसँग परिवर्तित हृदय हुनुपर्छ। किनकी अगमवक्ताहरूद्वारा परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु” (इजकिएल ३६:२६)।

पूरा लेख: तपाईं नयाँ गरी जन्मनुपर्छ

“त्यसो भए, नयाँ जन्म भनेको के हो त?” नयाँ जन्ममा आफैँलाई सेवा गर्ने जीवनबाट प्रभुलाई सेवा गर्ने जीवनमा जाने हृदयको परिवर्तन समावेश हुन्छ। यो त्यो बेलामा हुन्छ, जुन बेला हामी हाम्रो पापको लागि पश्चात्ताप महसुस गर्छौं र क्षमाको निम्ति येशूलाई विश्वासमा हेर्छौं। जब कुनै बच्चा जन्मन्छ, तब एउटा नयाँ जन्म हुन्छ, शरीरमा एक नयाँ व्यक्ति जन्मन्छ। त्यसैगरी, जब हामी नयाँ गरी जन्मन्छौं पवित्र आत्माद्वारा येशूमा एउटा नयाँ जन्म हुन्छ। यसैकारण यसलाई जन्म भनिन्छ – येशू ख्रीष्‍टमा एउटा नयाँ जन्म। “आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्चात्ताप गरून्‌ भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्छ” (२ पत्रुस ३:९)।

“नयाँ गरी जन्मनको लागि मैले कहिले आशा गर्न सक्छु?” धर्मशास्त्रले भन्छ, “आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने” (हिब्रू ३:७)। त्यसको मतलब जुनसुकै उमेर, समय वा स्थानमा, यदि तपाईंले त्यो बोलावट सुन्नुभयो र प्रत्युत्तर दिनुभयो भने, तपाईं पवित्र आत्माद्वारा नयाँ गरी जन्मन सक्नुहुन्छ।

“यसले कति लामो समय लिन्छ त? त्यो नयाँ जन्म हुनको लागि म बढ्नु पर्दैन त?” पर्दैन, हामी परमेश्वरको राज्यमा जन्मन्छौं र त्यसले हामीलाई सन्तान र उत्तराधिकारी बनाउँछ। “सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी” (रोमी ८:१७)। तपाईंले पूर्ण आत्मसमर्पण गर्नुभएको र क्षमाको निम्ति येशूकहाँ आउनुभएको बखतमा यसो हुन्छ।

“हामीले कसरी र कहिले यो प्राप्त गर्छौं?” हृदयलाई जाँच्नुहुने परमेश्वरले तपाईंको इमानदारितालाई देख्नुहुन्छ। उहाँ पवित्र आत्माको शक्तिद्वारा तपाईंकहाँ आउनुहुन्छ र तपाईंभित्र एउटा स्थिर आत्मा सृजना गर्नुहुन्छ (भजनसङ्ग्रह ५१:१०)। यसरी तपाईं नयाँ गरी जन्मनुहुन्छ—विश्वासद्वारा ख्रीष्ट येशूमा एउटा नयाँ सृष्टि बन्नुहुन्छ (२ कोरिन्थी ५:१७)। 

अन्ततः “म नयाँ गरी जन्मेको छु भनी म कसरी थाहा पाउँछु?” रोमी ८:१-१० मा पावलले सिकाउँछन्‌: “कुनै मानिसमा ख्रीष्‍टका आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन।” बाइबलले सिकाउँछ कि हराएकाहरू पापमा मरेका, दोषी ठहरिएका, र दुष्ट विवेक भएका हुन्छन्‌। यस संसारमा तिनीहरूको मन शरीरमा हुन्छ, तिनीहरू आशाविहीन, अनाज्ञाकारी, र परमेश्वररहित हुन्छन्‌। तर, नयाँ गरी जन्मिएको ख्रीष्टियान परमेश्वरको बालक, ख्रीष्‍टमा जीवित, बाँचेको, दण्डाज्ञा हटेको, र असल विवेक भएको हुन्छ। उसले आत्मामा मन लगाउँछ, ऊ पवित्र आत्मा र विश्वासले भरिएको हुन्छ, र उसले अनन्त जीवनको आशा राखेको हुन्छ। उसको पापहरू येशूको रगतद्वारा मेटिएका हुन्छन्‌। उसको हृदय परमेश्वरको प्रेम र शान्तिले भरिएको हुन्छ, जसले सबै ज्ञानलाई माथ गर्छ। उसले प्रभुको इच्छालाई प्रेम गर्छ, चाहना राख्छ र पूरा गर्ने शक्ति राख्छ। ऊ मृत्युपछिको आशामा र स्वर्गमा पाइने घरको प्रतिज्ञामा रमाउँछ। यस्तो किसिमको परिवर्तन भएर पनि यसलाई महसुस नगर्ने कोही होला र? मुस्किलले होला, किनकी “हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो” (रोमी ८:१६)।

यदि तपाईंले तपाईंको आत्मामा आउने त्यो शान्ति र आनन्दलाई यसरी अनुभव गर्नुभएको छैन भने, ढुक्क भएर नबस्नुहोस्‌, किनकी तपाईंले परमेश्वरलाई र आफ्नै आत्मालाई तुच्छ ठान्दै हुनुहुन्छ। तपाईं नयाँ गरी जन्मनैपर्छ।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌

परमेश्वरको उपहार: तपाईंको लागि

Jesus in a manger

समय सुरु हुनुभन्दा अघि परमेश्वर हुनुहुन्थ्यो। उहाँले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो। परमेश्वरले उहाँको प्रेममा मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र उसलाई एउटा सुन्दर बगैँचामा राख्नुभयो। परमेश्वरले दिनुभएका आज्ञाहरू मानिसले पालन गरेन। त्यस्तो अनाज्ञाकारिता पाप थियो र मानिस परमेश्वरदेखि अलग भयो। परमेश्वरले मानिसलाई तिनीहरूका पापका निम्ति निष्खोट जनावरहरूको बलि चढाउने आज्ञा दिनुभयो। त्यस्ता बलिदानहरूले तिनीहरूका पापको पूरा मूल्य त चुकाउँदैनथे, तर तिनले परमेश्वरले जुटाउनुहुने अन्तिम बलिदानलाई औँल्याउँथे। एक दिन परमेश्वरले उहाँका पुत्र येशूलाई सारा मानिसहरूका पापको अन्तिम बलिदान हुनका निम्ति यस संसारमा पठाउने योजना गर्नुभयो।

मरियम र स्वर्गदूत

The angel speaks to Mary

धेरै वर्षपछि, नासरत सहरमा मरियम नाउँकी एउटी कन्या केटी बस्थिन्। तिनको योसेफ भनिने पुरुषसँग विवाह हुनको लागि मगनी भइसकेको थियो। एक दिन एक जना स्वर्गदूत मरियमकहाँ देखा पर्यो र तिनले एक जना विशेष बालक जन्माउनेछिन् र तिनले उहाँको नाउँ येशू राख्नुपर्छ भनी त्यस स्वर्गदूतले भन्यो। त्यस बालकको सांसारिक पिता हुने थिएन। उहाँ परमेश्वरका पुत्र हुनुहुने थियो।

येशूको जन्म

पूरा लेख: परमेश्वरको उपहार: तपाईंको लागि

The star shining over Bethlehem

स्वर्गदूतसँग त्यसरी भेट भएपछि योसेफ र मरियम जनगणना गर्न लामो यात्रा गरी बेथलेहेम गए। तिनीहरू बेथलेहेम पुग्दा त्यो सहरमा मानिसहरूको ठूलो भीड थियो। तिनीहरूले एउटा गोठमा रात बिताए, किनकि पौवामा कुनै ठाउँ थिएन। येशू त्यहीँ जन्मनु भयो। मरियमले बालक येशूलाई लुगाले बेह्रेर डूँडमा राखिन्।

गोठालाहरू

Angels bring glad tidings to the shepherds

त्यही रात सहरदेखि बाहिरको डाँडामा केही गोठालाहरू आफ्नो भेडा बगालको हेरचाह गर्दै बसिरहेका थिए। एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा पर्यो अनि परमेश्वरको तेज ती गोठालाहरूको वरिपरि चम्कयो। स्वर्गदूतले भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आजको रात एक मुक्तिदाताको जन्म भएको छ। उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। तिमीहरूले त्यस बालकलाई लुगाले बेह्रेको र डूँडमा सुताइराखेको भेट्टाउनेछौ।” त्यसपछि परमेश्वरको महिमा र प्रशंसा गर्दै अरू धेरै स्वर्गदूतहरू देखा परे। तिनीहरूले भने, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!” स्वर्गदूतहरू ती गोठालाहरूबाट बिदा भएपछि तिनीहरू आफ्ना भेडाहरू त्यहीँ छाडेर आतुरीसँग बेथलेहेमतिर गए। अनि स्वर्गदूतले भनेकै जस्तो अवस्थामा तिनीहरूले बालकलाई भेट्टाए।

ज्योतिषीहरू

The wise men bring their gifts

येशूको जन्म भइसकेपछि कुनै अर्को देशका ज्योतिषीहरू यरूशलेममा आए। तिनीहरूले सोधे, “यहूदीहरूका राजा भई जन्मने बालक कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं, र उहाँलाई दण्डवत्‌ गर्न चाहन्छौं।” जब राजा हेरोदले यो कुरा सुने, तब उनी खुसी भएनन्‌। तिनले पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अगमवक्ताहरूले बेथलेहेममा एक जना शासकको जन्म हुनेछ भनी भनेका छन्‌ भन्ने कुरा तिनीहरूले तिनलाई भने। राजा हेरोदले ती ज्योतिषीहरूलाई त्यस राजाको खोजी गर्न बेथलेहेम पठाए। ती ज्योतिषीहरू यरूशलेमबाट निस्किँदा एउटा ताराले तिनीहरूलाई एउटा घरसम्म डोऱ्यायो, जहाँ तिनीहरूले येशूलाई भेट्टाए। तिनीहरूले उहाँलाई सुन, सुगन्धित धूप र मूर्रको भेटी चढाउँदै, उहाँको सामु घोप्टो परे र उहाँलाई दण्डवत्‌ गरे। परमेश्वरले सपनामा ती ज्योतिषीहरूलाई हेरोदकहाँ फर्केर नजानू भनी चेताउनी दिनुभयो, यसैले तिनीहरू अर्कै बाटो भएर आफ्ना घर फर्किए।

परमेश्वरले उपहार दिनुको कारण

येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो। उहाँले पापरहित जीवन जिउनुभयो र उहाँका सबै चालमा उहाँ सिद्ध हुनुहुन्थ्यो। तीस वर्षको हुनुभएपछि येशूले मानिसहरूलाई उहाँका पिता परमेश्वरको विषयमा शिक्षा दिन थाल्नुभयो। उहाँले धेरै आश्चर्यकर्महरू गर्नुभयो, जस्तै दृष्टिविहीनलाई दृष्टि दिनुभयो, मानिसहरूलाई तिनीहरूका रोगहरूबाट निको पार्नुभयो, मृतकहरूलाई समेत पनि फेरि जीवित पार्नुभयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले स्वर्गमा अनन्त जीवन पाउने उपायको बारेमा शिक्षा दिनुभयो। त्यसपछि उहाँले सारा संसारका पापका निम्ति आफ्नो जीवन बलिदानको रूपमा दिनुभयो।

बाइबलमा भएको यूहन्नाको पुस्तकको ३ अध्यायको १६ पदले भन्छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” येशू सर्वोच्च बलिदानको रूपमा क्रूसमा मर्नका निम्ति यस संसारमा आउनुभयो। उहाँको मृत्युद्वारा सबै पापको मूल्य चुकाइएको छ। अब उप्रान्त पापका निम्ति कुनै बलिदान चढाउनु पर्ने आवश्यकता छैन। यो उद्धारकर्ता पठाउने परमेश्वरको प्रतिज्ञाको परिपूर्णता थियो।

Jesus on the cross

येशू दुष्ट मानिसहरूको हातद्वारा मारिनुभयो, तापनि उहाँमाथि मृत्युको कुनै शक्ति थिएन। मरेको तीन दिनपछि, उहाँ मृत्युबाट विजयी बनी उठ्नुभयो। येशूको पुनरुत्थानपछिका दिनहरूमा, धेरै मानिसहरूले उहाँलाई देखे। अनि एक दिन आफ्ना चेलाहरूलाई आशिष् दिनुभएपछि उहाँ स्वर्गतिर उचालिनुभयो।

जब हामीले येशूमा विश्वास गर्ने र आफ्नो जीवन उहाँमा समर्पण गर्ने निर्णय गर्छौं, तब उहाँको रगतले हाम्रा सबै पापबाट हामीलाई शुद्ध पार्दछ। हामीले मुक्तिको यो उपहारलाई ग्रहण गरेपछि हामी परमेश्वरसँग फेरि एक हुन्छौं। येशू हाम्रा व्यक्तिगत मुक्तिदाता बन्नुहुन्छ, अनि उहाँको सन्तान हुँदा पाउने आशिषहरूको आनन्द उपभोग गर्न सक्छौं! एक दिन येशू फेरि आउँदै हुनुहुन्छ। उहाँले सबै साँचो विश्वासीहरूलाई स्वर्गमा लैजानुहुनेछ। त्यहाँ तिनीहरू परमेश्वरको साथमा सदासर्वदा जिउनेछन्।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌