सुन्नुहोस्‌ त! कसले तपाईंलाई बोलाउँदै हुनुहुन्छ?

The listening lamb

यूहन्नाको सुसमाचार १०:१–१८

कसैले तपाईंको नाम लिएर तपाईंलाई बोलाउँदै गरेको तपाईंले सुन्नुभएको, तर त्यो आवाज कहाँबाट आइरहेको छ भन्ने तपाईंलाई थाहा नभएको, त्यस्तो कहिल्यै भएको छ? अथवा, हुनसक्छ, तपाईंको वरिपरि धेरै होहल्ला भएको कारणले गर्दा तपाईंले मुस्किलले सुन्नुभएको होला।

सुन्नुहोस् त, तपाईंलाई एउटा आवाजले बोलाउँदै छ। हजुर, तपाईंलाई!

पूरा लेख: सुन्नुहोस्‌ त! कसले तपाईंलाई बोलाउँदै हुनुहुन्छ?

तपाईं को हुनुहुन्छ? तपाईंको नाम के हो? तपाईं कहाँबाट आउनुभएको हो? तपाईं कहाँ बस्नुहुन्छ? तपाईं कहाँ जाँदै हुनुहुन्छ?

तपाईंलाई आफ्नो गाउँको नाम थाहा छ। सायद, तपाईं अरू कुनै पनि ठाउँमा जानुभएको छैन। तर तपाईंलाई थाहा छ कि तपाईंको गाउँ यो ठूलो देशको एउटा भाग हो, र तपाईंको देश यस ठूलो संसारको एउटा भाग हो।

बाइबल

यो संसार करिब ६००० वर्ष अगाडि बनिएको हो। यो परमेश्वरले बनाउनुभएको हो। परमेश्वरसँग एउटा पुस्तक छ, जसलाई बाइबल भनिन्छ, अनि परमेश्वरले यो संसार कसरी बनाउनुभयो र उहाँले पहिलो पुरुष र स्त्रीलाई कसरी बनाउनुभयो भनी यो पुस्तकले बताउँछ। परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूपमा बनाउनुभयो।

त्यो समयदेखि बाल-बालिकाहरू जन्मिँदै आएका छन्‌। त्यही बेलादेखि नै मानिसहरूको मृत्यु हुन थाल्यो। हजारौं हजार मानिसहरूको जन्म भएको छ र मृत्यु पनि भएको छ।

तपाईं तपाईंको आमा र बुबाबाट जन्मनुभयो। तर तपाईंलाई साँच्चि नै परमेश्वरले बनाउनुभएको हो। उहाँले सबै कुरा बनाउनुभयो। परमेश्वरले यी सबै थोकलाई र तपाईंलाई कस्तो अद्भुत रीतिले बनाउनुभयो भनी के तपाईंले कहिल्यै सोच्नुभएको छ?

तपाईंको आमाबाबुले तपाईंलाई नाम दिनुभयो। परमेश्वरले तपाईंको नाम जान्नुहुन्छ। उहाँले हरेक नाम जान्नुहुन्छ, चाहे त्यो जुनसुकै भाषामा होस्‌। उहाँले सबै कुरा जान्नुहुन्छ।

परमेश्वरले हामीलाई बनाउनुभएको हुनाले उहाँले हाम्रो बारेमा सबै जान्नुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ किनकि हामी उहाँका हौं। उहाँ हाम्रो स्वर्गमा हुनुहुने पिता हुनुहुन्छ, र उहाँले हामीलाई हाम्रो आफ्नो बाबु र आमाले भन्दा पनि बढी वास्ता गर्नुहुन्छ।

 

परमेश्वर

परमेश्वर सधैँ अस्तित्वमा रहँदै आउनुभएको छ। उहाँ सधैँभरिको लागि जीवित हुनुहुन्छ। त्यसैले, जब उहाँले आफ्नो श्वास हामीमा हाल्नुभयो, त्यसले हामीलाई पनि सदाको निम्ति जीवित पार्यो। होइन, हाम्रो शरीर होइन, किनकि शरीर त मर्छ, तर हामी भित्र हुने आत्मा सदाको निम्ति जिउँछ।

के तपाईंले परमेश्वरलाई चिन्नुहुन्छ? सायद तपाईं सोध्नुहुन्छ होला, “परमेश्वर को हुनुहुन्छ? उहाँ कहाँ हुनुहुन्छ?”

के तपाईं साँच्चै चिन्न चाहनुहुन्छ? हो, तपाईं चाहनुहुन्छ, भित्र मनको गहिराइमा तपाईं उहाँलाई चिन्न चाहनुहुन्छ।

तपाईंले परमेश्वरलाई कहिल्यै देख्नुभएको छैन, छ त? छैन, तर यसको अर्थ उहाँ हुनुहुन्न भन्ने होइन।

परमेश्वर एक मात्र हुनुहुन्छ। उहाँको ठाउँ अरू कसैले लिन सक्दैन किनकि उहाँ जो एक साँच्चिकै परमेश्वर हुनुहुन्छ, उहाँले मात्र स्वर्ग र पृथ्वीमा राज्य गर्नुहुन्छ। उहाँ एकै समयमा सर्वत्र हुनुहुन्छ।

स्वर्ग परमेश्वरको घर हो, त्यो सुन्दर ठाउँ माथि छ, तर उहाँको आवाज सुनेर पालन गर्नेहरूको हृदयमा पनि उहाँ वास गर्नुहुन्छ।

मैले परमेश्वरलाई कसरी जान्न सक्छु? के तपाईंले सोधेको प्रश्न यही हो? कसरी उहाँलाई जान्ने भनेर देखाउन उहाँसँग एउटा सुन्दर योजना छ।

परमेश्वरले उहाँ को हुनुहुन्छ र उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई देखाउनको लागि आफ्नो एक मात्र पुत्र येशूलाई स्वर्गबाट तल पृथ्वीमा पठाउनुभयो। परमेश्वर र येशू एकै हुनुहुन्छ।

अचम्म तरिकाले परमेश्वरको पुत्र बालकको रूपमा जन्मनुभयो, हुर्कनु भयो र वयस्क मानिस हुनुभयो। अनि तीन वर्षसम्म येशूले मानिसहरूलाई उहाँका पिता, परमेश्वरको प्रेमको बारेमा बताउनुभयो। उहाँले तिनीहरूलाई परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले पापलाई सहन गर्न सक्नुहुँदैन भनी भन्नुभयो।

अनि परमेश्वरले हामीलाई हाम्रो पापबाट बचाउने एउटा बाटो बनाउनुभयो। उहाँले आफ्नो पुत्र येशूलाई दुष्ट मानिसहरूद्वारा क्रूसमा काँटी ठोकिनलाई दिनुभयो। उहाँले आफ्नो जीवन हाम्रो लागि अर्पण गर्नुभयो—उहाँको प्रेम यति महान्‌ थियो!

सबै संसारको पापको, तपाईंले अहिलेसम्म गर्नुभएको हरेक पापको, प्रत्येक केटा वा केटी, पुरुष वा स्त्री प्रत्येकको पापको मूल्य चुकाउन सक्ने एउटा मात्र बलिदान उहाँ हुनुभयो।

के येशू क्रूसमा नै रहनुभयो? के येशू चिहानमा नै रहनुभयो? भएन, तीन दिनपछि उहाँ विजयी भई मृत्युबाट जीवित हुनुभयो। त्यसपछि उहाँ स्वर्ग फर्कनुभयो र यो संसारको अन्त्यको समयमा उहाँ फेरि आउनुहुनेछ। त्यस बेला उहाँ सारा मानिसहरूका धार्मिक न्यायकर्ता हुनुहुनेछ।

के तपाइँसँग यूहन्नाको सुसमाचारको पुस्तक छ? यूहन्नाको पुस्तक १० अध्याय पढ्नुहोस्। येशूले मानिसहरूलाई जे भन्नुभयो यूहन्नाले त्यही लेखे। उहाँले जे भन्नुभयो त्यो आज हाम्रो लागि पनि हो। येशूले भन्नुभयो उहाँ असल गोठालो हुनुहुन्छ र आफ्नो भेडाको निम्ति आफ्नो जीवन दिनुहुन्छ। हामी भेडाहरू हौं। अनि उहाँका भेडाहरूले उहाँको आवाजलाई चिन्छन्। उहाँले प्रत्येकलाई नाम काढेर बोलाउनुहुन्छ। अपरिचित व्यक्तिलाई तिनीहरूले पछ्याउँदैनन्।

अपरिचित व्यक्ति, त्यो अर्को आवाज

त्यो अपरिचित व्यक्ति को हो, जसबाट हामीले भाग्नुपर्छ? अँ, त्यो चोर हो! त्यसले भेडाको केही वास्ता गर्दैन। त्यो झूटो हो। त्यसमा केही सत्य छैन। त्यो दुष्ट हो। त्यो हाम्रो शत्रु शैतान हो।

तर पहिले, त्यो परमेश्वरको शत्रु हो। एक समयमा त्यो स्वर्गमा परमेश्वरको राम्रो स्वर्गदूत थियो। तर त्यो घमन्डी भयो र त्यसले आफैँलाई परमेश्वरको विरुद्धमा उचाल्यो। त्यसले परमेश्वरको विरुद्धमा लडाइँ गर्यो, र अरू धेरै स्वर्गदूतहरूले पनि त्यसलाई साथ दिए। परमेश्वर विजयी हुनुभयो किनकि उहाँ सर्वशक्तिमान्‌ हुनुहुन्थ्यो। त्यसैले परमेश्वरले शैतान र त्यसलाई पछ्याउनेहरूलाई स्वर्गबाट निकालिदिनुभयो। यसले गर्दा शैतानले परमेश्वरलाई घृणा गर्छ।

त्यो फेरि कहिल्यै परमेश्वरको नजिक आउन नसक्ने हुनाले त्यसले आफ्नो रिस परमेश्वरको सृष्टि, यस संसारका मानिसहरूमाथि पोख्दछ। त्यसले पाप गरेको हुनाले, त्यसले अरू प्रत्येकलाई पनि पाप गर्न लगाउँछ। अब फेरि पापले स्वर्गमा प्रवेश गर्ने छैन।

एउटा अर्को ठाउँ छ, त्यो ठाउँ जुन परमेश्वरले शैतान र त्यसका दूतहरूको निम्ति बनाउनुभयो। त्यो नरक हो। नरक कष्टको ठाउँ हो। त्यो कहिल्यै ननिभ्ने, बलिरहने आगो भएको ठाउँ हो। त्यो त्यही ठाउँ हो जहाँ शैतान र त्यसलाई पछ्याउनेहरूलाई अनन्तको निम्ति दण्ड दिइनेछ। यदि हामीले शैतानको आवाज सुन्ने छनौट गर्यौं भने, यस्तो भयानक ठाउँमा परमेश्वरले हामीलाई पनि पठाउनुहुनेछ।

हामीले नरकको विषयमा विचार गरेको शैतानले चाहँदैन। हामीले परमेश्वरको बारेमा विचार गरेको पनि त्यसले चाहँदैन। त्यसैले शैतानले परमेश्वरबाट हाम्रो ध्यान अर्कीतिर लैजाने कोसिस गर्दै रहन्छ। हामीले त्यसकै आवाज सुनेको त्यसले चाहन्छ।

तपाईंको मनभित्र, तपाईंले त्यो अर्को आवाज, त्यस अपरिचित व्यक्तिको आवाज सुन्नुभएको छ?

कहिलेकाहीँ त्यसले हामीलाई राम्रो कुराहरू दिन सक्छ भन्ने भ्रम पैदा गरिदिन्छ। कहिलेकाहीँ, त्यसले हामीलाई यस्तो कुरा सोच्ने तुल्याउँछ, “म अरूभन्दा राम्रो छु। म महत्त्वपूर्ण छु। म पहिलो। म बदला लिनेछु। मेरो अधिकारको निम्ति मैले लड्नु पर्छ। चोरी गर्नु ठीक हो, केवल पक्राउमा नपरियोस्‌। सबैले नै झूट बोल्छन्, म पनि बोल्न सक्छु। खराब सोचाइहरू त्यति खराब होइन किनकि मैले के सोच्दै छु त्यो कसैलाई थाहा हुँदैन। फोहोर शब्दहरू—ती हाँसोको निम्ति ठीकै छन्‌।”

अनि अरू समयहरूमा, के तपाईं यति धेरै निराश हुनुभएको छ कि तपाईंले “म असल छैन, म किन जिउने” भनी सोच्ने परीक्षामा पर्नुहुन्छ?

यी सबै दुष्टको आवाज हो। त्यो झूटो हो। त्यसैले त्यसले हामीलाई पनि झूटो बनाउन चाहन्छ। त्यो चोर हो, त्यसैले हामीले पनि चोरेको त्यसले चाहन्छ। त्यो हत्यारा हो, त्यसैले हामीले पनि अरूलाई घृणा गरेको त्यसले चाहन्छ।

जब तपाईंले त्यो आवाज सुन्नुहुन्छ, तब तपाईंलाई कस्तो महसुस हुन्छ? के यसले तपाईंलाई भित्र मनमा राम्रो महसुस गराउँछ? अहँ, यो कुराले तपाईंलाई खिन्न पार्छ। यसले तपाईंलाई लुक्न चाहने बनाउँछ। शैतान बिलकुल यस्तै छ। त्यसलाई अन्धकारमा काम गर्न मन पर्छ।

येशू, गोठालाको आवाज

के तपाईंले असल गोठालो येशूलाई चिन्नुहुन्छ? के तपाईंलाई उहाँको भेडा हुन मनपर्छ? के तपाईं उहाँको आवाजलाई चिन्न चाहनुहुन्छ?

अँ, हो, तपाईं सक्नुहुन्छ। तर पहिले तपाईंले त्यो अपरिचित व्यक्तिको आवाज सुन्नु छोड्नुपर्छ।

अब, जब तपाईं शान्त रहनुहुन्छ, तब एक मधुर स्वरमा येशूले तपाईंको जीवन उहाँलाई दिन बोलाउनुभएको तपाईंले सुन्नुहुनेछ। उहाँले तपाईंलाई तपाईंको पापहरूको निम्ति दुःखित हुन र तिनलाई स्विकार गर्न बताउँदै गर्नुभएको आवाज सुन्नुहुनेछ।

हुनसक्छ, कहिलेकाहीँ जब तपाईं अति शान्त हुनुहुन्थ्यो, तपाईंले यस्तो विचार गर्दै हुनुहुन्थ्यो होला, “मैले मेरा सबै दुःख र बोझलाई के गर्ने? म असल भइदिएको भए त! म कहिल्यै भोको नहुने वा फेरि कहिल्यै बिरामी नहुने ठाउँमा भइदिएको भए त! म मरेपछि मलाई के हुन्छ होला?”

अनि, हुनसक्छ, अरू त्यस्ता थुप्रै सोचाइहरू तपाईंसँग छन्। यो येशूले तपाईंलाई बोलाउँदै गर्नुभएको आवाज हो।

कहिलेकाहीँ यो सबै किन भइरहेको छ भन्ने कुरा तपाईंलाई थाहा नहुँदा के तपाईं दुःखित हुनुहुन्छ? वा तपाईं एक्लै नहुँदा पनि के तपाईंले एक्लो महसुस गर्नुहुन्छ? तपाईंलाई बनाउनुहुने र प्रेम गर्नुहुने परमेश्वरलाई नपाएर तपाईंले एक्लो महसुस गर्नुभएको हुन सक्छ। उहाँ आफ्नो हराएको भेडालाई बोलाउँदै गर्नुहुने गोठालो हुनुहुन्छ। उहाँले तपाईंलाई बोलाउँदै हुनुहुन्छ र खोज्दै हुनुहुन्छ।

जब तपाईं गोठालोको आवाज सुन्नुहुन्छ, तब उहाँलाई जबाफ दिनुहोस्। तपाईं आफ्नो पापको निम्ति दुःखित हुनुहुन्छ भनी उहाँलाई भन्नुहोस्‌। तपाईंले कस्तो महसुस गर्दै हुनुहुन्छ सो उहाँलाई भन्नुहोस्, र आफूलाई बचाउन उहाँसँग आग्रह गर्नुहोस्। यस्तो गर्नु भनेको प्रार्थना गर्नु हो।

के तपाईंले कहिल्यै स्वर्गको परमेश्वरलाई प्रार्थना गर्नुभएको छ? यो अहिले नै गर्नुहोस्। उहाँले तपाईंलाई सुन्नु र बुझ्नुहुनेछ। तपाईंले खोज्दै गर्नुभएको शान्ति येशूले तपाईंलाई दिनुहुनेछ।

के तपाईं उहाँको भेडा भएर उहाँको स्वर चिन्न चाहनुहुन्न? उहाँ तपाईंको साथी बन्न चाहनुहुन्छ। उहाँले तपाईंको पापको बोझ हटाइ दिनुहुनेछ। तपाईंले भित्र खुसी महसुस गर्नुहुनेछ। तपाईं पनि उहाँ जस्तै प्रेमिलो र दयालु हुनुहुनेछ। उहाँले तपाईंलाई तपाईंको डरहरूबाट विजयी हुन सहायता गर्नुहुनेछ।

अरूले तपाईं ख्रीष्टियान भएकोमा गिल्ला गर्छन् होला, तापनि येशूले तपाईंको वास्ता गर्नुहुन्छ भनी तपाईंले जान्नुहुनेछ। त्यस अपरिचित व्यक्तिले तपाईंलाई परीक्षा गरे तापनि येशूले तपाईंलाई विजय हुनको निम्ति सहायता गर्नुहुन्छ भन्ने कुरामा तपाईंले विश्वास गर्नुपर्छ।

जब तपाईं गोठालोको प्रेमिलो अँगालोमा सुरक्षित हुनुहुन्छ, तब तपाईंलाई थाहा हुन्छ कि अन्त्यमा उहाँले तपाईंलाई उहाँको साथमा उहाँको गजबको, खुसीले भरिएको घरमा परमेश्वरसँगै सधैँ जिउनको लागि लग्नुहुनेछ!

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌

तपाईंको लागि एउटा साथी

येशू तपाईंको साथी

Jesus is your friend

मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस्‌ भन्ने म चाहन्छु। उहाँको नाम येशू हो। कति अचम्म उहाँ तपाईंको पनि साथी बन्न चाहनुहुन्छ!

उहाँको बारेमा मलाई केही भन्न दिनुहोस्‌। यो सत्य कथा हामी बाइबलमा पढ्छौं। बाइबल सत्य छ। यो परमेश्वरको वचन हो।

संसार र यसमा भएका यावत्‌ थोक बनाउने परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ। उहाँले सबै थोकलाई जीवन र श्वास दिनुहुन्छ।

पूरा लेख: तपाईंको लागि एउटा साथी

God's creation

येशू परमेश्वरको पुत्र हुनुहुन्छ। परमेश्वरले उहाँलाई स्वर्गबाट पृथ्वीमा हाम्रो आफ्नै मुक्तिदाता हुनको निम्ति पठाउनुभयो। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो (अर्थात्‌ उहाँले तपाईं र मलाई प्रेम गर्नुभयो) कि उहाँले आफ्ना एकमात्र पुत्र, येशू, (हाम्रो पापको निम्ति मर्नको लागि) दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌। (बाइबलमा भएको यूहन्नाको पुस्तकको ३ अध्यायको १६ पदमा लेखिएको छ)

येशू यस पृथ्वीमा सानो बालकको रूपमा आउनुभयो। पृथ्वीमा उहाँको बुवा योसेफ र आमा मरियम हुनुहुन्थ्यो। उहाँ गोठमा जन्मनुभयो र डुँडमा पस्रनुभयो।

Jesus' birth

येशू आफ्नो बुवाआमाको साथमा हुर्कनुभयो र उहाँले बुवाआमाको आज्ञा पालन गर्नुभयो। खेल्नलाई उहाँसँग उहाँका भाइहरू र बहिनीहरू थिए। उहाँले आफ्नो बुवा योसेफलाई सिकर्मी काममा सहायता गर्नुभयो।

Jesus and the lad with food

जब येशू परिपक्व मानिस हुनुभयो, उहाँले मानिसहरूलाई उहाँको स्वर्गमा हुनुहुने पिताको बारेमा सिकाउनुभयो। परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा उहाँले तिनीहरूलाई देखाउनुभयो। उहाँले रोगीहरूलाई निको पार्नुभयो र कष्टमा परेकाहरूलाई सान्त्वना दिनुभयो। उहाँ बालबालिकाहरूको साथी हुनुहुन्थ्यो। बालबालिकाहरू उहाँको नजिक आएको उहाँले चाहनुहुन्थ्यो। तिनीहरूसँग पनि उहाँले समय बिताउनुभयो। बालबालिकाहरूले येशूलाई प्रेम गर्थे र उहाँसँग हुन रुचाउथे।

केही मानिसहरूले येशूलाई रुचाउँदैन थिए। तिनीहरूले उहाँलाई ईर्ष्या गर्थे, र उहाँलाई घृणा समेत पनि गर्थे। तिनीहरूले उहाँलाई यति बिघ्न घृणा गर्थे कि तिनीहरूले उहाँलाई मार्न चाहे। एक भयावह दिनमा तिनीहरूले येशूलाई क्रूसमा काँटी ठोकेर मारे। येशूले केही गल्ती गर्नुभएको थिएन। उहाँ हाम्रो सट्टामा मर्नुपर्थ्यो किनकि तपाईंले र मैले गल्ती गरेका थियौँ।

Jesus on the cross

येशूको कथा उहाँको मृत्युसँगै टुङ्गिँदैन। परमेश्वरले उहाँलाई मृतकबाट उठाउनुभयो! उहाँका चेलाहरूले उहाँलाई देखे। अनि एक दिन उहाँ स्वर्ग फर्कनुभयो।

आज उहाँले तपाईंलाई देख्न र सुन्न सक्नुहुन्छ। उहाँलाई तपाईंको बारेमा सबै कुरा थाहा छ र उहाँले तपाईंको वास्ता गर्नुहुन्छ। केवल प्रार्थनामा उहाँकहाँ आउनुहोस्‌। उहाँलाई तपाईंको सबै दुःखको बारेमा बताउनुहोस्‌। तपाईंलाई मद्दत गर्न उहाँ तयार हुनुहुन्छ। तपाईंले जुनसुकै समयमा, जुनसुकै ठाउँमा, आफ्नो टाउको निहुराएर प्रार्थनामा उहाँसँग कुरा गर्न सक्नुहुन्छ।

एक दिन उहाँ फेरि आउँदै हुनुहुन्छ! उहाँमाथि विश्वास गर्ने जति सबैलाई स्वर्गको घरमा उहाँले लानुहुनेछ।

Jesus listening to a woman pray

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌

परमेश्वरको खोजी - के मैले परमेश्वरलाई भेट्टाउन सक्छु?

“परमेश्वर, तपाईं कहाँ हुनुहुन्छ?” “मलाई तपाईंको खाँचो छ।” “म तपाईंलाई चाहन्छु।” “मैले तपाईंलाई कसरी भेट्टाउन सक्छु?” के यो तपाईंको हृदयको सच्चा क्रन्दन हो? के तपाईंको सम्पूर्ण भावले उहाँसम्म पुग्दै गर्नुभएको, उहाँलाई खोज्दै गर्नुभएको, उहाँको चाहना राख्दै गर्नुभएको छ? तरपनि कसैगरी उहाँलाई नभेटेको जस्तो तपाईंलाई लाग्छ।

तपाईंको खोजीमा तपाईं एक्लै हुनुहुन्न। हरेक ठाउँमा र हरेक युगमा मानिसहरूले परमेश्वरको बारेमा सोध्दै आएका छन्‌। दुई हजार वर्षअघि एकजना धनी जवान शासक येशूकहाँ दौडँदै आएर सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?” (मर्कूस १०:१७)। जब पेन्तिकोसको दिनमा पत्रुसले प्रचार गरे, मानिसहरूले “हामीले के गर्ने?” अर्थात्‌ “हामीले परमेश्वरलाई कसरी भेट्टाउन सक्छौं त?” भनी प्रश्न गरे। अहिलेको हाम्रो पीडित संसारको विद्यमान अशान्ति नै परमेश्वर र उहाँको प्रेमलाई खोज्दै गरेको मौन क्रन्दन हो।

सबै मानिसहरूले परमेश्वरलाई भेट्टाउनुपर्छ। परमेश्वरमा हाम्रो हृदयले विश्राम नलिएसम्म हाम्रो हृदय अशान्त भइरहन्छ। मनको शान्ति र आत्माको विश्राम अनुभव गर्नको निम्ति परमेश्वरलाई भेट्नु र उहाँसँग हिँड्नुभन्दा बाहेक अर्को कुनै उपाय छैन। येशूले भन्नुहुन्छ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” (मत्ती ११:२८)।

हामी परमेश्वरद्वारा र परमेश्वरकै निम्ति बनाइएका हौं भन्ने कुरालाई जब हामी महसुस गर्छौं, हामीलाई उहाँको खाँचो छ भन्ने कुरा अझ राम्ररी हामीले बुझ्न सक्छौं। हामीहरूमध्ये कोही पनि ठ्याक्क उस्तै गरी बनाइएका छैनौं, तथापि हामी उहाँको स्वरूपमा र प्रतिरूपमा बनाइएका छौं (उत्पत्ति १:२६)। हाम्रो सृष्टिकर्तासँग एकतामा रहने चाहना भएको जीवित प्राणसँगै हामी सृजिएका हौं। “जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ” (भजनसङ्ग्रह ४२:१–२)। केवल जीवित परमेश्वरले मात्र मानिसको जीवित प्राणलाई सन्तुष्ट पार्न सक्नुहुन्छ।

भजनसङ्ग्रहका लेखक दाऊदले आफ्नो अन्तर्मनको भावनालाई यसो भनेर निष्कर्ष निकाल्छन्‌, “मलाई  केही कुराको अभाव हुँदैन” (भजनसङ्ग्रह २३:१)। परमेश्वरले नै उनको आवश्यकतालाई पूरा गर्नुभयो। दाऊद सन्तुष्ट भए किनकी सृष्टि र सृष्टिकर्ताको भेट हुँदा मात्र त्यो शान्ति आउँछ भन्ने उनले जानेका थिए। “किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ” (भजनसङ्ग्रह १०७:९)।

पूरा लेख: परमेश्वरको खोजी - के मैले परमेश्वरलाई भेट्टाउन सक्छु?

परमेश्वर साँचो हुनुहुन्छ। तपाईंले उहाँलाई देख्न, बुझ्न, वा पाउन सक्नुहुन्न, तापनि यो कुराले उहाँ हुनुहुन्थ्यो, अहिले हुनुहुन्छ, र सदाको लागि रहिरहनु हुनेछ भन्ने वास्तविकतालाई परिवर्तन गर्न सक्दैन। परमेश्वर हुनुहुन्छ! यसमा कहिल्यै शङ्का नगर्नुहोस्‌। उहाँको अस्तित्वमा दृढतापूर्वक विश्वास गर्नुहोस् र उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा निर्धक्क हुनुहोस्।

परमेश्वर सर्वत्र हुनुहुन्छ!

याकूबको इनारको छेउमा येशूले त्यस स्त्रीलाई भन्नुभयो कि परमेश्वर आत्मा हुनुहुन्छ र हामीले उहाँलाई जुनसुकै ठाउँमा, जुनसुकै समयमा भेट्टाउन सक्छौं। परमेश्वरले आफैँलाई टाढा, पुग्न नसकिने स्वर्गमा सीमित पार्नुहुन्न, न त उहाँले आफैँलाई आराधनाका स्थलहरूमा मात्र सीमित गर्नुहुन्छ। तपाईंले उहाँलाई पर्वतमा, उपत्यकामा, आकाशमा, समुन्द्रमा, तपाईंको घरमा, वा जुनसुकै ठाउँमा पाउन सक्नुहुन्छ। अहिले भर्खरै पनि उहाँ तपाईंकै वरिपरि हुनुहुन्छ।

परमेश्वरका जन याकूबले भने, “निश्चय नै यस ठाउँमा परमेश्वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन” (उत्पत्ति २८:१६)। हामी पनि धेरैजसो उहाँ नजिक हुनुहुँदा जीवनका सांसारिक थोकहरूमा यति बिघ्न तल्लीन रहन्छौं कि हामी यो थाहा नै पाउँदैनौं। हामी उहाँलाई कुनै नाटकीय प्रकारले जम्काभेट गर्ने अपेक्षा राख्छौं र त्यो “मधुरो कानेखुसी” मा उहाँलाई पहिचान गर्न असमर्थ हुन्छौं (१ राजा १९:९-१३)। हामी रोकिनुपर्छ, हामीले हेर्नु र सुन्नुपर्छ, अनि विश्वासमा हामीले उहाँलाई देख्न, सुन्न र बुझ्न सक्नेछौं।

हामीले उहाँलाई अन्धकारमा छामछाम-छुमछुम गर्दै खोजिरहनु पर्दैन। उहाँले आफैँलाई तपाईंबाट लुकाउनुहुन्न। उहाँले त तपाईंलाई पर्खँदै हुनुहुन्छ। तपाईंले उहाँलाई भेट्टाउने इच्छा राखेर उहाँको खोजी सुरु गर्नुभन्दा लामो समय अघिदेखि नै तपाईंले उहाँलाई खोज्नुभएको होस्‌ भनी उहाँले तपाईंलाई पर्खँदै हुनुहुन्थ्यो। उहाँले तपाईंलाई उहाँको अनन्त परिवारमा रहेको चाहनुहुन्छ, जहाँ उहाँले तपाईंलाई अति व्यक्तिगत रूपमा प्रेम र वास्ता गर्न सक्नुहुन्छ। के तपाईं रित्तो, अशान्त, दोषी, हराएको वा मृत्युसँग डराएको महसुस गर्नुहुन्छ? यस्तो हो भने परमेश्वरले तपाईंलाई बोलाउँदै हुनुहुन्छ, किनकी तपाईं हराउनुभएको उहाँ चाहनुहुन्न। यो तपाईंको निम्ति पहिलो बोलावट हुन सक्छ वा अन्तिम पनि हुन सक्छ। “आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने, आफ्ना हृदय कठोर नपार” (भजनसङ्ग्रह ९५:७–८)।

सबैले पाप गरेका छन्। “धर्मी कोही छैन, एक जना पनि छैन” (रोमी ३:१०)। परमेश्वर पवित्र हुनुहुन्छ, त्यसकारण उहाँले पापलाई घृणा गर्नुहुन्छ। त्यसैले, जसै हामी उहाँको उपस्थितिमा आउँछौं, उहाँले आफ्नो वचनमा हामीलाई सिकाउनुभएको जस्तै गरी हामीले हाम्रो पापहरूसँग सामना गर्ने प्रेरणा पाउँछौं। राम्रो नैतिक जीवन जिउने कुरा कहिल्यै हाम्रो पापहरूको निम्ति प्रायश्चित्त हुन वा हाम्रो मुक्तिको निम्ति पर्याप्त हुन सक्दैन। साँचो पश्चात्तापले नै हामीलाई हाम्रो पापहरूबाट फर्काउँछ।

परमेश्वरको महान् प्रेममा, हामीले उहाँलाई भेट्टाउने मार्ग उहाँले नै बनाउनुभयो। “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌” (यूहन्ना ३:१६)। ख्रीष्ट नै परमेश्वरसम्म पुग्ने बाटो हुनुहुन्छ। येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन" (यूहन्ना १४:६)। जब त्यस कारागारका हाकिमले सोधे, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” प्रेरित पावलले जबाफ दिए, “प्रभु येशू ख्रीष्‍टमा विश्वास गर्नुहोस्‌, र तपाईंले उद्धार पाउनुहुनेछ” (प्रेरित १६:३०–३१)।

जब निकोदेमसले मुक्तिको बारेमा सोधपुछ गरे, येशूले जबाफ दिनुभयो, “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन” (यूहन्ना ३:३)। के तपाईं निकोदेमसले जस्तै यो कसरी हुन सक्छ भनेर सोध्नु हुन्छ? नयाँ गरी जन्मिनु भनेको परमेश्वरका पुत्र येशूलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गर्नु हो। जसै तपाईंले उहाँको कोमल प्रेमलाई महसुस गर्नुहुन्छ, तपाईंले आफैँलाई उहाँको सामुन्ने पापी र अशुद्ध हुनुभएको महसुस गर्नुहुनेछ। तपाईंको पापहरूको लागि येशूले गर्नुभएको प्रेमपूर्ण बलिदानले तपाईंको हृदयमा गहिरो शोक उत्पन्न गराउँछ। “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ” (१ यूहन्ना १:९)।

जसै तपाईंले विश्वास गर्नुहुन्छ, तपाईंले पूर्ण समर्पणतामा तपाईंको आफ्नो इच्छा उहाँमा सुम्पन सक्नुहुन्छ। तपाईंले एउटा नयाँ हृदय पाउनुहुन्छ र आफैँलाई इन्कार गरेर पापबाट फर्कन परमेश्वरको पवित्र आत्माले तपाईंलाई सहायता गर्नुहुन्छ। तपाईंले शान्ति आएको र परमेश्वरको नजिक हुनुभएको महसुस गर्नुहुन्छ। “यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप (शान्ति) भएको छ। उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं” (रोमी ५:१–२)।

के तपाईं उहाँलाई साँच्चै भेट्न र उहाँसँगै हिँड्न चाहनु हुन्छ? रोजाइ तपाईंको हो—नितान्तै तपाईंको। तपाईंले गुमाउनुपर्ने केही कुरा छैन, बरु सबै कुरा हासिल गर्नुहुन्छ। यदि तपाईं रोकिनुहुन्छ, आफ्नो मुहार फर्काउनुहुन्छ, र परमेश्वरतिर बढ्नुहुन्छ भने तपाईंले उहाँलाई भेट्टाउनुहुनेछ। खोजी गर्ने प्राण र खोजी गर्ने उद्धारकको जहिल्यै पनि मिलन हुन्छ! जब तपाईंले जीवनका स्रोत, परमेश्वरलाई भेट्टाउनुहुन्छ, उहाँले नै तपाईंलाई नयाँ जीवन, नयाँ हृदय, र उहाँलाई पछ्याउने इच्छा दिनुहुन्छ। सबै कुरा नयाँ हुनेछ (२ कोरिन्थी ५:१७)।

परमेश्वरसँग प्रार्थना गर्नुहोस्। उहाँले तपाईंलाई क्षमा गर्नुभएको होस्‌ भनी उहाँसँग बिन्ती गर्नुहोस्‌। तपाईं आफ्नो पापहरूदेखि थाक्नु भएको छ र उहाँले तपाईंलाई जता-जता डोर्याउनुहुन्छ त्यता-त्यता उहाँलाई पछ्याउन चाहनुहुन्छ भनेर उहाँलाई भन्नुहोस्। जसै तपाईंले आज्ञाकारितामा उहाँलाई पछ्याउनुहुन्छ, उहाँको शान्तिले तपाईंलाई पर्खिरहन्छ।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌